समाज

म्याग्दी अदालतमा मुद्दा पेसीमा स्वचालित प्रणाली

जिल्ला अदालत म्याग्दीले कार्यसम्पादनलाई छिटो, सहजरुपमा सञ्चालन र न्याय दिने उद्देश्य पेशी तारिखका लागि स्वचालित (अटोमेसन) प्रणाली लागू गरेको छ।

गत साउन १ गतेदेखि अटोमेसन प्रयोगमा आएपछि सहज भएको बताइएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला न्यायाधिश प्रकाशप्रसाद पण्डितले आइतबार बालबालिकासम्बन्धी मुद्दा, सोमबार र मंगलबार ६ महिनाभित्र टुङ्गाउनुपर्ने मुद्दा, बुधबार १ बर्सभित्र र बिहीबार दुई बर्सभित्र टुंगो लगाउनुपर्ने मुद्धाहरु हेरिने बताए।

पण्डितले अटोमेसन प्रणाली लागु भएपछि अदालतमा मुद्दा दर्ता भएपछि कर्मचारीले तारेख, पेशी लगायतका सबै क्रियाकलापमा समय तोक्ने झन्झट हटेको छ। आधुनिक प्रविधिका कारण फैसलामा हुने ढिलाइ अन्त्य हुनाका साथै नागरिकले तोकिएकै समयमा न्याय पाउँदा न्यायालयप्रतिको विश्वास बढ्ने, कार्यसम्पादन र प्रगतिमा सुधार हुने, वार्षिक लक्ष्य प्राप्तिमा समेत सहज हुने छ। अटोमेसनलाई अदालतको मुद्दा फर्छ्योट दरमा सुधार हुने र लामे समय मुद्दामा अल्झिएर बस्न नपर्ने जनाइएको छ।

अटोमेसन पद्धति लागू भएपनि क्यालेन्डर तोकिएअनुसार नै कार्यसम्पादन हुँदा पेशी चढेका सरल, सामान्य र विशेष मुद्राको फैला प्रक्रियामा समेत सहज हुने छ। जिल्ला अदालत म्याग्दीमा गत २०८०/०८१ मा ५६५ थान मुद्दा रहेकोमा ३८४ थान मुद्दा फछ्यौटको लक्ष्य रहेकोमा ४ सय ८३ थान अर्थात ८१ प्रतिशत मुद्दा फछ्यौट भएको छ। अघिल्लो वर्षका १ सय १० थान मुद्दा सरेर चालु वर्षलाई सरेका छन्। अब दायित्व सरेका मुद्दा र नयाँ दर्ता भएका मुद्दा पनि प्राथमिकताको आधारमा पेशीमा राख्दा अव अनावश्यक चलखेल हुनेछैन। 

प्रकाशित: ३२ श्रावण २०८१ १४:२४ शुक्रबार