समाज

डोटी बस दुर्घटना : घाइतेहरूको पहिचान खुल्यो

डोटीमा बस दुर्घटनामा घाइतेहरु सबैको पहिचान खुलेको छ। डोटीको दिपायल सिलगढी नगरपालिका–४ समुहगाड अन्तरगत रेडियो नेपालको मोडमा बस दुर्घटना भएको थियाे। धनगढीबाट दिपायलतर्फ गईरहेको शैलेश्वरी यातायातको ना ५ ख ४४९१ नम्बरको रात्रि बस शुक्रवार बिहान ५ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएकाे छ। 

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा डिएसपी भिमलाल भट्टराईका अनुसार दुर्घटनामा चालक सहित १७ जना घाइते भएका छन्। बस सडकबाट स्थानीयको घरमाथि खसेको थियो। घरमा पनि क्षति पुगेको छ।  

घाइते हुनेहरुमा १६ जना बसमा सवार यात्रुहरू हुन् भने एक जना घरमा सुतिरहेकी महिला हुन्। यस्तै दुर्घटनामा सायल गाउँपालिका– ४ का २४ वर्षीय इन्द्र बोगटी, सोही ठाउँका ८२ वर्षीय तेज बहादुर सिंह, ६८ वर्षीय हर्क बहादुर सिंह र ५६ वर्षीय लालवीरे भुल, सायल गाउँपालिका– ३ का ४० वर्षी दल बहादुर बयाडी, पूर्वीचौकी गाउँपालिका-७ तिमुरदहका २१ वर्षीय हिक्मत बिक, बोगटान फुड्सिल गाउँपालिका-६ पलाडीका ३५ वर्षीय देव बोगटी घाइते भएका छन्।

यस्तै, दिपायल सिलगढी नगरपालिका–१ तिखाकी ४० वर्षीया डम्बरी खड्का, दिपायल सिलगढी नगरपालिका-४ राजपुरका ३८ वर्षीय डिल बहादुर नेपाली, , दिपायल सिलगढी नगरपालिका–६ का २९ वर्षीय भेषराज धामी, आदर्श गाउँपालिका– ४ भुवाका ३० वर्षीय कृष्ण विष्ट, सोही ठाउँका ३८ वर्षीय  सन्तोष बोहरा र आशर्द गाउँपालिकाकै वडा नं १ का २३ वर्षीय प्रकाश खड्का, डडेलधुराको गन्यापधुरा गाउँपालिका- २ की २१ वर्षीया सविता देउवा, बस चालक शिखर नगरपालिका- १० का २८ वर्षीय भरत रावल र बसका साहु केआईसिंह गाउँपालिका- २ का ४६ वर्षीय कमल विक्रम शाही घाइते भएको प्रहरीले जनाएको छ।

त्यस्तै घरमाथिबाट बस खस्दा घरमा सुतिरहेकी स्थानीय ५० वर्षीया सरूँ नेगी पनि घाइते भएकी छिन्। उनको अवस्था सामान्य रहेको छ। बिहीबार धनगढीबाट केआइसिंह गाउँपालिका वायलका लागि छुटेको रात्रि बस दुर्घटना भएको हो। गाडीको प्रेसर पाइप फुटेका कारण उकालोमा ब्रेकले काम नगर्दा दुर्घटना भएको चालक रावलले बयान दिएका छन्।

बस सडकबाट करिब ३५ मिटर तल खसेको बताइएको छ। घाइतेहरू सबैको राजपुरस्थित सुजङ्ग अस्पतालमा उपचार भइरहेको छ। गम्भीर अवस्थाका बिरामीहरूलाई थप उपचारका लागि अन्यत्र रेफर गर्ने तयारी छ।

प्रकाशित: ३२ श्रावण २०८१ ११:३२ शुक्रबार

#bus aacident #Doti