समाज

कारसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

कोशी राजमार्ग अन्तर्गत विराटनगरको पिपल चोकमा बुधबार राति भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। 

विराटनगर–३ स्थित पिपल चोकमा बुधबार राति साढे ९ बजेतिर कार र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उत्तरबाट आएर पूर्वतर्फ मोडिँदै गरेको को १ च ५१९१ नम्बरको कार र भित्री सडकबाट राजमार्गतर्फ निस्कँदै गरेको मधेस प्रदेश ०१–००४ प २७८४ नम्बरको मोटरसाइकल एक आपासमा ठोक्किएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक मोरङको बुढीगंगा गाउँपालिका–५ का ४० वर्षीय फेकुलाल सरदारको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।

उनका अनुसार कारसँग मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा गम्भीर घाइते भएका सरदारलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल लगिएको थियो।

सरदारलाई अस्पताल पु¥याउनसाथ चिकित्सकले मृत घोषित गरे। प्रहरीले कार र चालक मोरङको पथरीशनिश्चरे नगरपालिका–१० का ४६ वर्षीय जीवन कटवाललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रकाशित: ३१ श्रावण २०८१ १२:०५ बिहीबार

#accident