समाज

बैतडीमा ट्राफिक कारवाहीबाट २३ लाख बढी राजस्व संकलन

बैतडीमा एक बर्षको अवधिमा ट्राफिक नियम उल्लंघन गर्नेहरुबाट २३ लाख बढी राजस्व संकलन भएको छ। 

जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनबाट २३ लाख ४३ हजार ५ सय राजस्व संकलन भएको छ। यो अघिल्लो आर्थिक बर्ष २०७९/१० भन्दा २ लाख १० हजारले बढी हो।

गत आर्थिक बर्ष २०८०/८१ मा ४ हजार ४ सय ५९ गाडी कारवाहीमा परेका छन्। ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनहरुबाट सवारी तथा यातायात ऐन २०४९ को दफा १६४ बमोजिम कारवाही गरी जरीवना असुल गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले जनाएकाे छ। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब निरीक्षक धिरज पाठकका अनुसार  सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको पूर्ण पालन गर्न सबै चालकहरुमा आग्रह गरिएको छ। 

ट्राफिक नियम उल्लंघन गर्नेहरुबाट जरीवाना असुल गर्नुका साथै उनीहरुलाई ट्राफिक नियमका बारेमा थप जानकारी समेत दिने गरिएको हाे।  

गत आर्थिक बर्षमा ३ सय ९४ ट्रक, ५२ बस तथा मिनि बस , २ हजार ६ सय ७८ जिप,कार र भ्यान, ३ सय ८ ट्याक्टर, ८ सय ३२ मोटरसाइकल र १ सय ९५ ओटा टेम्पो तथा अन्य सवारी साधन कारवाहीमा परेका छन्।

लाइसेन्स बिना सवारी साधन चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने लगायतका ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई कारवाही हुने गरेको प्रहरी नायब निरीक्षक पाठकले बताए। 

प्रकाशित: ३१ श्रावण २०८१ ०८:३९ बिहीबार

#Baitadi #Violation of traffic rules #Traffic Police Office