समाज

भक्तपुरमा पाक्न लागेको धानबाली पहेँलियो, किसानहरू चिन्तित

पाक्न लागेको धानबाली पहेँलिन थालेपछि भक्तपुरका किसानहरू चिन्तित हुन थालेका छन्। खेतमा रहेका धानका बोटहरू धानको जरादेखि नै सुक्न थालेपछि  किसानहरू चिन्तित बनेका हुन्।

बोटको जरा र डाठहरु किराले खाएको छ, बोटमा रातोरातो दागहरू देखिएका छन्। त्यसो त भक्तपुर नगरपालिका वडा नं ७ का ४ दर्जन कृषकहरूले बुधबार धानबालीमा देखिएको समस्या बारे वडा कार्यालयलाई जानकारी गराएका छन्।

साथै उनीहरुले संक्रमित बिरुवाको नमुनासहित ल्याएर परीक्षणका लागि नगर कृषि समितिका कृषि विज्ञसँग परामर्श लिएका छन्।

कृषकहरूको गुनासो र संक्रमित बोटको परीक्षण गर्दै कृषि विज्ञ सविन ख्याजूले भक्तपुरमा ब्लाष्ट रोग छिटफुट रुपमा देखिएको बताए। धेरै समय धानबालीमा पानी जम्दा बोटमा चुसी परेर तथा गोबारो किराले खाएर धानबाली पहेँलिन थालेको अनुमान उनको छ। कतिपय धानबालीमा पोटासको कमीले बाली बिग्रिएको पनि उनले बताए।

धानबालीमा यस्तै समस्या देखिन थालेपछि भक्तपुरका वडावडामा यससम्बन्धी परामर्श कार्यक्रमहरू भइरहेका छन्। यस क्रममा भक्तपुर नगरपालिका क्षेत्रका १० वटा वडाहरूमध्ये ८ वटा वडाहरूमा धानबालीमा लाग्ने किरा तथा रोग व्यवस्थापन सम्बन्धी अभिमुखीकरण भइसकेको छ।  

प्रकाशित: ३० श्रावण २०८१ १८:२१ बुधबार