समाज

भक्तपुरका किराना पसलेको मनपरी: अनुमति नलिई व्यवसाय चलाउने, म्याद नाघेका सामग्री बेच्ने

भक्तपुरमा रहेका अधिकांश  किराना तथा खाद्यान्न पसलमा म्याद नाघेका खाद्य सामग्री रहेको पाइएको छ। भक्तपुर नगरपालिकाले गरेको बजार अनुगमनमा लान्चाफल्चादेखि कमलबिनायकसम्म पसल अनुगमन गर्दा ए.एल.एस किराना पसलमा म्याद नाघेको सामान एक बोरा नै भेटिएको हो।

भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवम् वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा मंगलबार गरेको अनुगनपछि निजलाई नै नष्ट गर्न निर्देशन दिएको बताएको छ ।

अनुगमन समितिका अनुसार ए.एल.एस किराना पसलमा म्याद नाघेको सामानहरु सच्चासबु सबुदाना, खजुरीको पप ५ पाकेट, चिज क्रेकर बिस्कुट ३ पाकेट, पशुपति पापड १ पाकेट, सुजी १ पाकेट, भिभा १ वटा, पेप्सी ५ वटा, स्टिङ १ वटा, कर्नफ्लोर ३ पाकेट, चोको पाई १ बट्टा लगायत धेरै म्याद नाघेको सामान भएकोले निजलाई नै नष्ट गर्न निर्देशन दिएको छ।

पसल धेरै बर्षदेखि नवीकरण नभएकोले नवीकरण गर्न, फोहर देखिएकोले सरसफाईमा ध्यान दिन, तराजु नवीकरण गर्न निर्देशन दियो। त्यस्तै, सुरेश खाद्य स्टोर र सुनिम किरान पसल नवीकरण गर्न र सरसफाईमा ध्यान दिन निर्देशन दिएको थियो। रामगोपाल किराना स्टोर नवीकरण गर्न, म्याद नाघेको सामान कागती चुक ५ बोटल जफत गरी नष्ट गरी पसलमा सरसफाई र व्यवस्थित गर्न र मूल्यसूचि राख्न निर्देशन दिएको जनाएको छ।

के.एम.मार्ट प्रा.लि. नवीकरण गर्न र म्याद नाघेको सामानहरु रोल्ड ओट २ बट्टा, भक्तपुर डेरीको शुद्ध ध्यू लेवल नभएको र म्याद नाध्ने मिति मात्र स्टिकरले टासेकोले लेवल नभएको सामानहरु नबेच्न र कार्यालयमा उपस्थित गराउन निर्देशन दिएको थियो। 

यसैबिच, सचिन खाद्य स्टोर ४ बर्षदेखि नवीकरण नभएकोले तीन दिनभित्र नवीकरण गरी नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दिई किरा लागेको बोडी २४ केजीको १ बोरा र धनिँया २ पाकेट जफत गरी नष्ट गरिएको थियो। माता दक्षिणकाली स्टोर दर्ता नगरी सञ्चालन गरेकोले एक हप्ताभित्र दर्ता गर्न समेतनिर्देशन दिएको थियो।

यस्तै, अनुगमनमा सदस्य श्यामकृष्ण खत्री, ज्ञानबहादुर मानन्धर, श्यानिटेशन उपशाखाका वडा निरीक्षक रामकृष्ण प्रजापति, कर उपशाखाका मोहनदेबी व्याञ्जू, जिल्ला प्रशासन कार्यालय भक्तपुरका हरिहर कापले, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक रामप्रवेश शाह, घरेलु तथा साना उद्योगका सुमित्रा श्रेष्ठ, उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरका लक्ष्मीप्रसाद कासुला र उद्योग बाणिज्य संघ भक्तपुरका रबीन्द्र प्रजापतिको सहभागिता रहेको थियो।

प्रकाशित: ३० श्रावण २०८१ ०७:५७ बुधबार