समाज

कर्णाली राजमार्गमा सधैं सास्ती

‘पहिरो हटाउने कहिले हो, घर पुगिने कहिले हो, टुंगो छैन’

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरदेखि मुगुको रारातालसम्मको दूरी दुई सय ९४ किलोमिटर हो। सामान्यतः यो दूरी पार गर्न एक दिन काफी हुनुपर्ने हो। वर्षाका कारण कर्णाली राजमार्ग र नाग्म–रारा खण्डका विभिन्न ठाउँमा पहिरो जाँदा एक दिनमा पुगिने ठाउँमा पनि एक सातासम्म लाग्ने गरेको छ।

मुगुका पदम रावल सुर्खेतबाट आइतबार एक सय ३२ किलोमिटर पार गरेर कालीकोट सदरमुकाम मान्मा पुगेका थिए। घर भेटघाटका लागि गएका उनी सोमबार दिनभर कालीकोटको मोल्फामा आएको पहिरोमा रोकिए। ‘राति थोरै पानी परेको थियो, ठाउँठाउँमा पहिरो गइसकेको रहेछ’, उनले भने, ‘सडक ढाकेको पहिरो कहिले हटाइने हो, कहिले घर पुगिने हो टुंगो छैन।’

खाद्यान्न र निर्माण सामग्री बोकेका गाडीहरू सुर्खेतबाट दुई दिनमा मुगु पुग्थे। सुर्खेतका राजेश थापा पाँच वर्षदेखि सुर्खेत–मुगुमा ट्रक चलाइरहेका छन्। अरू बेला लोड ट्रक दुई दिनमा गमगढी पुर्‍याउने थापालाई हिजोआज गमगढी पुग्न साता दिन लाग्छ।

‘कर्णाली राजमार्ग र नाग्म–गमगढी खण्डमा बर्खाको बेला गाडी चलाउँदाको सास्ती शब्दमा व्यक्त गर्न सकिन्न’, ट्रक चालक थापाले भने, ‘कहींकहीं एक किलोमिटर सडक पार गर्नका लागि पनि एक दिन लाग्ने गरेको छ।’

कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडक २०६४ सालदेखि सञ्चालनमा आएको हो। पहाडी भूभाग र साघुँरो सडकले अरू बेला पनि यहाँ यात्रा गर्न सास्ती हुन्थ्यो। अझ सानो पानी पर्नेबित्तिकै खहरेले सडकमा पहिरो थुपार्ने र पहिरो खस्ने भएकाले बर्खाको समयमा कर्णाली राजमार्गको यात्रा कम्ता जोखिम छैन।

कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडक सञ्चालन भएको १८ वर्ष भयो। एक दशकअघि ओटासिल गरिएको सडक जीर्ण छ। वर्षाले ठाउँठाउँमा सडक भत्केका छन्। पहिरोको समस्या उस्तै छ। सामान्यतः जुम्ला–सुर्खेतको दूरी आठदेखि १२ घन्टासम्मको हो, तर हिजोआज यही सडक यात्रा गर्न तीनदेखि चार दिन लाग्छ।

‘साँघुरा सडक, ठाउँठाउँमा आएको पहिरोले जुम्लादेखि सुर्खेत पुग्न दुई–तीन दिन लाग्छ’, जुम्लाका स्थानीय हंशराज न्यौपानेले भने, ‘पहिले हिँडेरै तीन दिन लाग्थ्यो, हिजोआज गाडीमा जाँदा पनि त्यति नै समय लाग्छ।’

सडकको स्तरोन्नति र सरकारी निकायले समयमै आएको पहिलो नपन्छाउँदा यात्रुहरूले सास्ती खेप्दै आएका छन्। कर्णाली राजमार्गको कालीकोट खण्ड जोखिमपूर्ण छ। सुनारखोला, पिली, मोल्फा, खल्लागाडलगायतका ठाउँमा दिनहुँ आउने पहिरोले यात्रुहरू समस्यामा पर्ने गरेका छन्। यो खण्डमा गाडी वारपार गराउन डोजरको सहायता लिनुपर्छ। कर्णालीमा एक सातायता वर्षा भइरहेको छ। नाग्मदेखि गमगढीसम्मको ९४ किलोमिटर सडकको अवस्था झन् जोखिमपूर्ण छ।

असारदेखि भदौसम्मको तीन महिना यो सडकमा यातायातका साधन चलाउन सास्ती हुन्छ। नाग्म–गमगढी खण्डको कोइरेली, बड्की, विष्टबाडा, रोकायबाडा, गोठीजिउलालगायतका ठाउँमा पहिरोले सडक अवरुद्ध हुन्छ। ‘सामान्य वर्षाले पनि कर्णाली राजमार्ग र नाग्म–गमगढी सडक खण्डका विभिन्न स्थानमा पहिरोले बाटो अवरुद्ध गर्छ’, चालक थापाले भने, ‘कहिले कर्णालीको सडक सुधार होला र सहज तरिकाले गाडी गुडाउन पाइएला ?’

नाग्म–गमगढी सडक खण्डको केही ठाउँ कालोपत्रे भए पनि अधिकांश ठाउँमा पानी पर्नेबित्तिकै यातायातका साधन चलाउन मुस्किल हुन्छ।

सडक सञ्चालनमा आएदेखि कर्णाली राजमार्गको स्तरोन्नति भएको छैन। साँघुरा सडकका कारण यहाँ दिनहुँ दुर्घटना हुन्छन्। सुर्खेत–जुम्ला सडकमा यात्रुवाहक बस चलाउँदै आएका भक्तहादुर सावाँले साँघुरो सडकले सास्ती हुने गरेको बताए।

‘कुनैकुनै यस्ता ठाउँ छन्, जहाँ साइड दिन आधा घन्टा समय लगाएर ब्याक गर्नुपर्ने बाध्यता छ’, उनले भने, ‘सडक सञ्चालनको यतिका वर्ष हुँदा पनि स्तरोन्नति नहुँदा समस्या नै समस्या छन्।’

कर्णाली राजमार्गअन्तर्गतको दैलेखको खिड्कीजिउलादेखि सेरीगाडसम्मका सडक सबैभन्दा साँघुरा छन्। कालीकोट सदरमुकाम मान्मदेखि जुम्लाकोे सीमा नाग्मसम्म पनि कैयौं स्थानमा साँघुरा सडकले हैरान बनाउने गरेको छ। 

प्रकाशित: २९ श्रावण २०८१ १०:३५ मंगलबार

# Karnali Rajmarg # Sadhoi Sasti