समाज

डोलेश्वरमा भौतिक पूर्वाधारको निर्माण धमाधम

भक्तपुरको सूर्य विनायक नगरपालिका वडा नं ८ सिपाडोलमा अवस्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिर परिसरमा भौतिक पूर्वाधार निर्माणको कामहरू धमाधम भइरहेका छन् । पछिल्लो समय मन्दिर परिसरमा ढुङ्गा बिछ्याउने, मन्दिर प्रवेशद्वार बनाउने र सामुदायिक भवन निर्माण कार्य भएका छन् ।

सूर्य विनायक नगरपालिका वडा नं ८ का वडा अध्यक्ष पुष्पराज बस्नेतले पछिल्लोपल्ट ८५ लाखको लागत इष्टमेटमा मन्दिर परिसरमा ढुङ्गा बिछ्याउने कार्य सम्पन्न भएको जानकारी गराए । नगरपालिकाको ६० प्रतिशत र केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको ४० प्रतिशत रकमबाट ढुङ्गा बिछ्याउने कार्य सम्पन्न भएको जानकारी उनले गराए । साथै मन्दिर प्रवेश गर्ने मुख्य आकर्षक प्रवेशद्वार पनि निर्माण गरिएको छ । साथै २० लाखको लागत इष्टमेटमा सामुदायिक भवन बनेको छ ।

डोलेश्वरलाई केदारनाथको शिर भाग घोषणा गरेपछि यसको संरक्षण र विकासका निम्ति गठन गरिएको समितिले २०६८ सालमा गुरुयोजना निर्माण गरिएको थियो । गुरुयोजना अनुसार मूल मन्दिरलाई पशुपतिनाथको मन्दिरको शैलीमा बनाउने तयारी भइरहँदा २०७२ सालको भूकम्पले पूर्ण क्षति गरेपछि समितिले गुरुयोजना अनुसार नै मन्दिर निर्माण सुरु गरेको थियो । करिब २५ रोपनी क्षेत्रफलमा फैलिएको डोलेश्वरको गुरुयोजना पूरा गर्न ५६ करोड रुपैयाँ लागत लाग्ने अनुमानका साथ निर्माण कार्य भइरहेको हो । गुरुयोजना अन्तर्गत हालसम्ममा ६४ शिव लिङ्ग, शौचालय, ढुङ्गे धारा, सामुदायिक भवन, बसाहा, विमला नदीमा दुवैतर्फ तटबन्ध तथा पर्खाल निर्माण कार्य सम्पन्न भएको छ । यस्तै मूल मन्दिर, चौबन्दी सत्तल, धर्मशाला (विशेष अतिथि गृह), मन्दिर प्राङ्गणमा शिव पाञ्चायन मन्दिर अन्तर्गतका चार वटा साना गणेश, सूर्यनारायण, विष्णुनारायण र देवीको मन्दिर निर्माण कार्य भइसेका छन् । गुरुयोजना बाहेकको जगातीमा रहेको मूल गेट (महाद्वार) को निर्माण कार्य पनि सम्पन्न भइसकेको छ । मन्दिर निर्माणको गुरुयोजना २०६८ सालमा तयार भए पनि निर्माण कार्य भने २०७२ सालबाट मात्रै सुरु भएको थियो ।

डोलेश्वरको मन्दिर कहिले निर्माण भएको ठोस प्रमाण नभेटिए पनि यो मन्दिर मल्लकालीन राजाहरूद्वारा जीर्णोद्धार गरिएको शिलालेखमा उल्लेख छ । प्यागोडा शैलीको यो मन्दिरलाई वि.सं. १९९० साल माघ २ गते आएको महाभूकम्पले पूर्ण रूपमा क्षति पुयाएपछि २००६ सालमा गुम्बज शैलीमा पुनर्निर्माण गरिएको बताइएको छ ।

केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले २०७२ सालको महाभूकम्पले फेरि पनि पूर्णरुपमा क्षति पुगेको र त्यसपछि गुरुयोजना अनुसार काम भइरहेको जनाए ।

मन्दिरलाई गुरुयोजना अनुसार काम अगाडि बढाउन प्रत्येक वर्ष साउन १ गतेदेखि साउने मेला गर्दै आएको छ । यस वर्ष पनि जारी एक महिने साउने मेलाको अवधिमा १ करोड रुपैयाँ आर्थिक संकलन हुने अपेक्षा गरिएको छ । यसका लागि दस लाख खर्च हुने अनुमान समितिको छ ।

समितिका अध्यक्ष बस्नेतका अनुसार अरु बेला पनि नियमित रुपमा यहाँ प्रतिमहिना झन्डै दुई लाख रुपैयाँ चन्दा संकलन हुँदै आएको छ । सङ्कलित चन्दामध्ये भारतीयबाट ६० प्रतिशत र नेपालीबाट ४० प्रतिशतको हाराहारीमा उठ्ने गरेको उनले जनाए ।

वर्षको ३ पटक वैशाख÷जेठमा पर्ने अक्षय तृतीया, केदारनाथको शिर घोषणाको वार्षिकोत्सव भदौ ६ गते र शिवरात्रिको दिनमा सर्वसाधारण भक्तजन आफैँले मन्दिरभित्र शिव लिङ्ग छोएरै पूजा र ढोग दर्शन गर्न पाउने चलन छ । यो वर्ष पनि मेलाको अन्तिम दिन भदौ ६ गते सर्वसाधारण भक्तजन आफैँले मन्दिरभित्र शिव लिङ्ग छोएरै पूजा र ढोग दर्शन गर्न पाउने छ । अरू बेला भक्तहरूको फूल माला पूजा सामान र भेटी आदि पुजारीहरूद्वारा मात्र चढाउने व्यवस्था छ ।

डोलेश्वर महादेव भक्तपुर सहरबाट दक्षिण–पूर्वी कुनोमा अवस्थित छ । यहाँ महादेवको मन्दिर छ । यसलाई केदारनाथको शिर पनि भनिन्छ ।

काठमाडौँबाट सूर्य विनायक गणेश मन्दिरतिर लाग्ने मोडबाट सिपाडोल जाने बस समाएर सूर्य विनायक गणेश मन्दिरहुँंदै सिपाडोल बसपार्क भएर भाडाका यात्रु बसबाट डोलेश्वर पुग्न सकिन्छ । साथै अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको आदर्श वस स्टप अनि जगातीबाट पनि निजी सवारीसाधनमा मन्दिर पुग्न सकिन्छ ।

प्रकाशित: २७ श्रावण २०८१ १९:०१ आइतबार

#Bhaktapur #Surya Vinayak Municipality #shipadol #Doleswar Mahadev Temple