समाज

आदिवासी दिवसमा सार्वजनिक बिदाका लागि पहल गर्छु : सभापति ऋषिकेश पोखरेल

प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले विश्व आदिवासी दिवसमा देशैभर सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन सरकारसँग पहल गर्ने बताएका छन्। 

शुक्रवार मोरङको रतुवामाई स्थित इटहरामा ३० औँ विश्व आदिवासी दिवसका अवसरमा आयोजित सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले विश्व आदिवासी दिवसमा सार्वजनिक बिदा दिने व्यवस्था गर्न सरकारसँग पहल गर्ने बताएका हुन् । 

पोखरेलले पछिल्लो समय मुलुकमा स्थिर सरकार गठन भएको र राजनीतिक स्थिरता कायम भएकाले अब विकास निर्माणका कामलाई मुख्य प्राथमिकतामा राख्ने  बताए । पोखरेलले विशेष गरी राष्ट्रिय र स्थानीय महत्वका आयोजनाहरूलाई प्राथमिकतामा राखी निर्माणाधीन आयोजनाहरू सम्पन्न गर्न ध्यान केन्द्रित गर्ने स्पष्ट पारे । 

कार्यक्रममा  नेपाल आदिवासी जनजाति महासंघ रतुवामाई नगर समन्वय परिषद्का अध्यक्ष डा.ओमप्रकाश सिंहले आदिवासी जनजातिको भेसभुसा र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । सो अवसरमा बोल्ने वक्ताहरूले आदिवासीहरू सबै क्षेत्रमा पछि पर्दै गएकाले संविधानले सुनिश्चित गरेका हक अधिकार पुर्ण रुपमा कार्यान्वयन गर्न माग गरेका थिए । 

संस्थाका उपाध्यक्ष रामकुमार राजवंशीले आदिवासी दिवस अगस्ट ९ को सन्दर्भ पारेर विश्वभरिका साथै परिषदले पनि नियमित कार्यक्रम गर्दै आएको बताए । उनले जल,जंगल,जमिनमा आदिवासीहरूको अग्राधिकार होस र भाषा,पहिचान संस्कृतिको संरक्षण होस भनेर दिवस विशेष कार्यक्रम गर्ने गरिएको बताए ।  

कार्यक्रममा सन्थाल,धिमाल,राजवंशी,थारु,नेवार,राई,लिम्बु,ताजपुरिया लगायत परिषद् आबद्ध विभिन्न जातिका सङ्घसंस्थाले आ–आफ्नो मौलिक पहिरनमा सांस्कृतिक नृत्य प्रस्तुत गरे । कार्यक्रममा समन्वय परिषद् आबद्ध १२ वटा जातीय संस्थाले सांस्कृतिक नृत्यका साथै झाँकी समेत प्रस्तुत गरेको  थिए । 

प्रकाशित: २५ श्रावण २०८१ २१:३८ शुक्रबार

#public holiday #World Indigenous Peoples Day #Chairman of Public Accounts Committee Rishikesh Pokharel