समाज

आदिवासी जनजाति समुदायको भाषा संरक्षण वर्तमान समयको आवश्यकता हो : मुख्यमन्त्री लामा

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आदिवासी जनजाति समुदायको भाषा संरक्षण वर्तमान समयको आवश्यकता भएको बताएका छन्।

नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद् चितवनले आयोजना गरेको ३० औँ विश्व आदिवासी दिवसलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले भाषा साहित्यमा धनी समुदाय भएर पनि यसको संरक्षण हुन नसक्दा भाषा लोप हुने अवस्थामा आइपुगेको बताएका हुन्। 

एउटा समुदायको भाषा अर्को समुदायले प्रस्ट नबुझ्दा कतिपय नाम थर र स्थानको नाम बिग्रिएको बताउँदै त्यसका लागि आदिवासी जनजातिका भाषालाई गैर आदिवासी जनजातिलाई पनि बुझाउन आवश्यक रहेको उनले बताए । 

नारायणी कला मन्दिरमा भएको कार्यक्रममा चितवनका विभिन्न जातजातिले आ–आफ्ना सांस्कृतिक प्रस्तुति दिएका थिए । महासंघका अध्यक्ष महेन्द्र दुराका अनुसार २०५५ सालमा स्थापना भएको महासङ्घमा हाल १७ जाति साङ्गठनिक रूपमा आबद्ध भएका छन् । करिब ४० आदिवासी जनजातिको बसोबास रहेको चितवनमा अन्य जातिलाई पनि समेट्ने प्रयास भइरहेको अध्यक्ष दुराले जानकारी दिए ।

प्रकाशित: २५ श्रावण २०८१ १९:३३ शुक्रबार

#World Indigenous Peoples Day #Bahadur Singh Lama Chief Minister of Bagmati Province #Federation of Nepal Tribal Tribes #Language conservation