समाज

भेरी अस्पतालमा अनलाइन टिकट प्रणाली

भेरी अस्पतालमा अनलाइन टिकट प्रणालीको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल । तस्विरः गणेश/नागरिक

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको स्वास्थ्यको हब नेपालगन्जमा अवस्थित भेरी अस्पतालले आफ्नो स्थापनाको एक सय ३० वर्षपछि बिरामीका लागि अनलाइन टिकट प्रणाली सुरु गरेको छ।

 बिरामीको भिड अत्यधिक बढ्दै जाँदा अस्पतालमै पुगेर सास्तीपूर्ण तरिकाले टिकट काट्नु पर्ने बाध्यतालाई सहज बनाउन उक्त प्रणाली सुरु गरिएको हो।

अब बिरामीले अस्पताल पुग्नु अगावै घरबाट ई–टिकट लिन सक्ने छन् । परीक्षणका लागि सुरु गरिएको यो प्रणालीका लागि अहिले एक सय वटा टिकट अनलाइनबाट काट्न सकिने व्यवस्था गरिएको भेरी अस्पतालका कार्यालय प्रमुख डा. प्रकाशबहादुर थापाले जानकारी दिए। ‘अहिले यो सेवा कत्तिको प्रभावकारी हुन्छ परीक्षण गर्छौँ,’ उनले भने, ‘यसको प्रभावकारिता बढ्दै गयो भने संख्या बढाउँछौँ ।’ 

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका जिल्लाहरूबाट भेरी अस्पतालमा दैनिक चार/पाँच सय बिरामी आउँछन् । यहाँ बिरामीको चाप बढ्दै गएपछि टिकट काट्न सास्तीपूर्ण तरिकाले लाइन लाग्नु पर्ने अवस्था छ । 

अनलाइन टिकट प्रणालीले यो सास्तीलाई कम गर्ने अपेक्षा गरिएको उनी बताउँछन् । गत वर्षदेखि अस्पतालमा अनलाइन टिकट प्रणाली सुरु गर्ने भनिए पनि यस वर्ष स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको रणनीतिअनुसार शुक्रबारदेखि यो सेवा सुरु गरिएको कार्यालय प्रमुख डा. थापाले बताए । यसको शुक्रवार मन्त्री पौडेलले उद्घाटनसमेत गरेका छन् ।

सङ्घीय अस्पतालहरूमा यो प्रणाली लागु गर्ने भनिए पनि भेरी अस्पतालले सबैभन्दा पहिला कार्यान्वयन गरेको मन्त्री पौडेलले बताए । ‘जो जहाँ सार्वजनिक पदमा बसे पनि जनताको सेवालाई सहज बनाउन हो,’ उनी भन्छन्, ‘त्यसैले यसलाई प्रभावकारी रूपले अगाडि बढाउनु पर्छ ।’

अनलाइन टिकटका लागि भेरी अस्पतालको अनलाइन लगइन गर्नुपर्ने छ । त्यहाँ अनलाइन टिकटका लागि ‘अपोइन्टमेन्ट बुक’ अप्सन राखिएको छ । त्यहाँ क्लिक भएपछि नियमित ओपिडी अपोइन्टमेन्टका लागि त्यहाँ सामान्य चिकित्सा, स्त्री रोग, ग्यास्ट्रोलोजी/नेफ्रोलीजी, कान, नाक, घाटी रोग, हाड जोर्नी तथा नशा, दाँत, आँखा, बाल रोगलगायतका आफूलाई आवश्यक विभाग छनोट गर्न सकिन्छ । 

त्यसपछि कुन दिनमा अस्पताल आउने त्यसलाई छनोट गरेपछि टिकट खुला हुन्छ । त्यहाँ बिरामीको नाम, उमेर लिङ्ग, जिल्ला, पालिका, वडा नम्बर, टोल, मोबाइल नम्बर भर्नु पर्ने हुन्छ । त्यति बेलै टिकटको शुल्क तिर्न भर्नुपर्ने विवरणको मुति ई–सेवा, फोन पे र खल्तीबाट ३० रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ । 

यो शुल्क भनेको अस्पतालमा आफैँ पुगेर ओपिडीमा लाग्ने शुल्क बराबर हो । यसरी भरेको टिकट आफैँले प्रिन्ट गरेर ल्याउन सकिने वा अस्पतालमै आएर प्रिन्ट निकाल्न सक्ने व्यवस्था गरिएको अस्पतालका प्रमुख डा. थापाले बताए । अनलाइन टिकट सामान्य बनाइएको छ । सामान्य लेखपढ गरेका व्यक्तिलाई समेत अनलाइन टिकट काट्न सहज होस् भनी टिकट भर्नलाई सजिलो बनाइएको उनको भनाइ छ ।

विक्रम सम्वत् १९४७ साल अर्थात आजभन्दा एक सय ३० वर्ष अघि पृथ्वीवीर अस्पताल डिस्पेन्सरीको नाममा स्थापना भएको थियो। त्यसपछि २०१६ सालमा यसलाई रत्न राज्यलक्ष्मी देवी प्रसूति गृह नामकरण गरियो भने २०२२ सालमा भेरी अञ्चल अस्पतालका नाममा नामकरण गरियो । यस अस्पतालको लागि सुरुमा ५० बेड स्वीकृत भएको थियो । 

२०४३ सालमा एक सय कायम भयो । हाल अस्पताल विकास समितिबाट ५० बेड थप बढाइएको छ । अहिले जम्मा एक सय ५० बेड क्षमताको अस्पताल सञ्चालनमा छ । यसले दुई बेड क्षमताको अनुमतिसमेत प्राप्त गरेको छ । यसलाई कार्यान्वयन गर्ने अन्तिम चरणमा रहेको अस्पतालले जनाएको छ ।

साथै शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले भेरी अस्पतालमा नवनिर्मित इन्डोर भवन, एमआरआई सेवा उद्घाटन गरेका छन् ।

 

प्रकाशित: २५ श्रावण २०८१ १८:०९ शुक्रबार

#Online ticketing system #Bheri Hospital #Health and Population Minister Pradeep Paudel