समाज

समय अवधिभित्रै समितिले प्रतिवेदन बुझाउँछः सभापति थापा

सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले समय अवधिभित्रै प्रतिवेदन बुझाउने तयारी गरेको छ।

शुक्रवार समिति सभापति सूर्यबहादुर थापाले बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै समितिले सहकारीको छानबिनका लागि निरन्तर काम गरिरहेको भन्दै समयमा नै सम्पन्न गर्ने जानकारी दिएका हुन्।

उनले समितिले अहिले सहकारीका सञ्चालक तथा अध्यक्षहरुलाई बोलाएर सोधपुछ गरिरहेको बताए। कारागारमा रहेकाहरुलाई गृह मन्त्रालयको समन्वयमा समितिको बैठकमा नै ल्याएर लिखित बयान लिइरहेको उनले बताए। उनले समितिले सहकारी ठगेर विदेशतिर भागेका १८ जनालाई नेपाल ल्याउन गृहमन्त्रालयलाई निर्देशन दिएपनि पछि थप गरेर २१ जनालाई नेपाल ल्याउन गृह मन्त्रालयलाई पत्रचार गरेको बताए।

उनले सरकारबाट केही जानकारी नआएको बताए। उनले २१ जना विदेशमा रहेका सहकारी वचत अपचलन गरेको आरोपमा छानबिनका लागि जरुरी रहेकाले जुनसुकै देशमा भएपनि समितिले समयमा नै छानबिनको लागी ल्याउन सरकारसँग आग्रह गरेको बताए। उनले समितिले आगामी एक गतेसम्म सहकारीका सञ्चालक तथा अध्यक्षहरुसँग बयान लिने कार्य सक्ने योजना रहेको बताए।

उनले कारागारमा करिव ३ सय जना रहेकाले सबैलाई सोधपुछ गर्न सम्भव नभएको भन्दै प्रतिनिधि मुलुक रुपमा अर्बौं रुपैयाँ अपचलन भएका सहकारीका अध्यक्ष र सञ्चालकलाई सोधपुछ गर्नेगरी नामावली तयार गरेर सोधपुछको काम भइरहेको बताए। उनले समितिले प्रतिवेदनको मस्यौदाको काम पनि अगाडि बढाएको बताए।  

प्रकाशित: २५ श्रावण २०८१ १७:३२ शुक्रबार

#Surya Thapa