समाज

प्रहरी भनी ठगी गर्ने युवक पक्राउ

आफू प्रहरी हो भन्दै ठगी गर्ने एक युवक पक्राउ परेका छन्। सर्वसाधारणलाई डर त्रास देखाएर रकम असुली गर्दै आएको आरोपमा रौतहट प्रहरीले एक जना युवकलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा रौतहटको माधवनारायण नगरपालिका १ का रामबली साहका २४ वर्षीय छोरा रमेश साह रहेका छन्। उनले आफू सादा पोसाकको प्रहरी हुँ भन्दै ठगी गर्ने गरेको प्रहरीले जनाएको छ। सर्वसाधारणलाई ठगी गरिरहेको सूचनाको आधारमा इलाका प्रहरी चन्द्रपुरबाट खटिएको प्रहरी टोलीले साहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

चन्द्रपुर नगरपालिका ९ डुमरियास्थित गौर चन्द्रपुर सडक खण्डमा मङ्गलवार राति चेकजाँचको क्रममा साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिइन्। साहले बोकेको झोला खानतलासी गर्दा सशस्त्र प्रहरी बलको पोसाकसमेत भेटिएको छ।

नियन्त्रणमा लिइएका साह विरुद्ध जिल्ला प्रशासन कार्यालय रौतहटबाट अभद्र व्यवहार मुद्दा शीर्षकमा म्याद थप गराएर आवश्यक अनुसन्धान सुरु गरिएको डिएसपी गिरीले बताइन्। 

प्रकाशित: २४ श्रावण २०८१ १७:०८ बिहीबार