समाज

वर्षामा काठमाडौंकै बिजोग

लगातारको वर्षाका कारण देशका विभिन्न नदी तथा खोलामा पानीको सतह बढ्दै गएको छ। अन्य भागभन्दा सुरक्षित ठानिएको राजधानीकै विभिन्न भागमा पनि बाढी र भेलले बितन्डा मच्चाएको छ। बागमती र यसका सहायक नदी विष्णुमती, धोबी खोला, मनोहरा, हनुमन्ते, गोदावरी, खोड्कु, नख्खु, बल्खुलगायत साना नदीमा जल सतह बढेसँगै आसपासका क्षेत्र जलमग्न बनेका हुन्। अझ बल्खु क्षेत्रको सुकुम्वासी बस्तीमा बागमतीको भेल पस्दा हाहाकार मच्चियो। ‘भेलका कारण जीवन नै जोखिममा परेको छ,’ सुकुम्वासी बस्तीका नरेन्द्र राउतले भने, ‘डरका कारण रातभर जाग्राम बसेका छौं।’

पानी अझै नरोकिने भविष्यवाणीका कारण झनै डरलाग्दा स्थिति आएको उनले सुनाए । ‘पानी पर्नेबित्तिकै केटाकेटीहरू रुन थालेका छन्, ‘उनले भने, ‘हामी उनीहरूलाई जोगाउन जाग्राम बस्ने गरेका छौं।’ जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श दिएको छ। विभागका अनुसार यो अवधिमा सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । साथै बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने बहाव, बाढीपहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

पानीको समस्या पहिलो पटक नभए पनि विकल्प नभएका कारण यहीँ बस्नु परेको उनको भनाइ छ। ‘बाढी त पहिला पनि आउँथ्यो तर अहिले निकै बढी आएको छ,’ उनले भने, ‘बस्ती साँगुरिएसँगै निकासको अभावमा पानीको सतह बढ्न थालेको छ।’

जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंको धाप क्षेत्रमा पछिल्लो १२ घण्टामा ५९.४ मिलिमिटर पानी परेको छ । कपनमा ८४.६, थलीप्मा ६७.६ मिलिमिटर पानी परेको छ। ललितपुरको गोदावरीमा १०१.६, काठमाडौंको नैकापमा ५६.४ मिलिमिटर पानी परेको छ।काठमाडौंको बागमती, विष्णुमती, रूपमती मनोहरा, ललितपुरको कोड्कु, भक्तपुरको हनुमन्तेलगायत खोलामा जल सतह बढेपछि किनारमा रहेका बस्ती डुबानमा परेका छन्। बागमती, विष्णुमती, कोड्कुलगायत खोलाले जल सतह पार पर्दा किनारका बस्ती डुबानमा परेका हुन्।

त्यसैगरी ललितपुरका युनएनपार्क क्षेत्र र सानेपा क्षेत्रको बागमती कोरिडोर सडक जलमग्न बन्यो। भेलका कारण पक्की सडकको बिचमा खाल्डा पर्न थालेका छन्। बाढीकै कारण कागेश्वरी मनोहरा र भक्तपुरको मध्यपुरथिमी नगरपालिका जोड्ने पक्की पुलको एकातिरको भाग धसिएको छ। समयमै मर्मत नगरे पुल पुरै भत्कने स्थानीय श्रीकृष्ण कार्कीले जानकारी दिए।

भेलका कारण मंगलबार बिहान सहरका विभिन्न भागमा यात्रासमेत असहज बन्यो। ट्राफिक प्रहरीका अनुसार काठमाडौंका स्वयम्भू, सानो भर्‍याङ, ठुलो भर्‍याङ, लैनचौर, पुतलीसडक, माइतीघर, कोटेश्वरलगायत मुख्य सडक र सहायक सडकहरू डुबानमा परेका छन्। कुलेश्वर, कालीमाटी क्षेत्र पनि डुबानमा छन्। 

जताततै भेलबाढीले गर्दा पैदल यात्रु र दुईपांग्रे सवारीचालक बढी प्रभावित बने। मंगलबार मध्याह्नबाट काठमाडौँ उपत्यकामा वर्षा मत्थर भएको छ। तर जोखिम नटरेको विभागको भनाइ छ। यसको आसपासका स्थानमा पानी परिरहेकाले जल सतह बढ्दो क्रममा रहेको विभागले जानकारी दिएको छ।

वर्षाका कारण कपन क्षेत्रका बासिन्दाको झनै बिजोग भएको छ। हतारहतारमा खहरे खोला खोल्ने काम भए पनि यसको व्यवस्थापनमा लापरबाही गर्दा यस क्षेत्रका बासिन्दा समस्यामा परेका छन्। कतिपयको आँगनमा पानी छिरेको छ भने कतिपयको कोठासम्म पानी पुगेको छ।

‘पोहोर पनि यस्तै अवस्था आएको थियो,’ बुढानीलकण्ठ–१० कपनका निमेष पाठक भन्छन्, ‘एउटाले अर्कोलाई दोष देखाउँछन् हामी चाहिँ समस्यामा परेका छौं।’ व्यवस्थापन गर्न छोपिरहेको पानीको भागलाई नबिगारिदिएको भए हुने भन्ने उनको भनाइ छ। ‘खुला खहरेको बाढी र फोहोर दुवै आँगनमा आइपुगेका् छ,’ उनले भने, ‘अब त हामीलाई हैजाको डर लाग्न थालेको छ।’

जल तथा मौसम विज्ञान विभागले जारी गरेको आगामी तिन दिनको मौसम बुलेटिन अनुसार मंगलबार दिउँसो देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

त्यस्तै मंगलबार राति देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सबै प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। साथै मौसम विभागले बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहको जनाएको छ। 

विभागका अनुसार बुधबार देशभर साधरणतया बदली रहने र सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख छ। उक्त दिन पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।

प्रकाशित: २३ श्रावण २०८१ ०७:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App