समाज

बेपत्ता श्रीमानको सम्झनामा वर-पीपलको रुखमा पूजा गर्दा बन्यो बगैँचा

जगमोहनी थरुनीले जल र फुल चढाउने गरेको रुख। तस्बिर: दिनेश नागरिक

जङ्गलको बिचमा वर पीपलको रुख मुनि वरिपरि फुल पुलेको देखेपछि गोठालाहरू दङ्ग परे। घनघोर जङ्गल बिचमा रहेको अजंगको रुख मुनि ठुलो ढुङ्गामा पूजा समेत गरिएको अकल्पनीय दृश्यले त्यहाँ जाने स्थानीयलाई अचम्म बनायो। त्यसपछि स्थानीयले खोज्न थाले त्यहाँ कसले पूजा गर्दछ। 

एक महिला नित्य रुपमा बिहानै आएर बरको रुख मुनि राखिएको ढुङ्गामा जल, पुल चढाएर फर्किन्थिन। त्यो कुरा बिस्तारै गाउँभरि फैलियो। स्थानीय जगमोहनी थरुनीले उक्त रुख मुनि जल सँगै फुल चढाउने र सरसफाइ गर्ने गरेको सबैलाई थाहा भयो। घर परिवार समेत अनभिज्ञ यो दैनिकीले रुख सँगै जङ्गलको परिचय पनि फेरियो।

पञ्चायत कालमा थारु युवाहरुले बधुवा मजदुरी र कमैया प्रथाको विरुद्धमा आवाज उठाउन थाले। पछाडि पारिएको थारु समाज भित्रका इमानदार र मेहनती युवाले दाङबाट प्रकाशन हुने गोचाली पत्रिकामा लेख्न थाले। २०२८ सालको पञ्चायत कालमा प्रकाशन हुने गोचाली पत्रिका प्रतिबन्ध लाग्यो। चेतनाको ज्वाला बाल्न जगमोहनीका श्रीमान् सगुनलाल चौधरीले यही चौपारीमा बसेर थारुका कथा अनि चेतना र समाज जागरणका कुरा लेख्थे। उनी गोप्य रुपमा यहाँ आएर बस्ने लेख्ने गरेको श्रीमती जगमोहनीलाई मात्र थाहा थियो।

माओवादी द्वन्द्व चर्किरहँदा २०५८ पुष १२ तत्कालीन शाही नेपाली सेना र प्रहरीको टोलीले जगमोहनलाई बेपत्ता बनाए पछि श्रीमानको यादमा उनले वर पीपलको रुख मुनी एउटा ठुलो ढुङ्गा राखेर जल र फुल चढाउन सुरु गरेकी हुन। पञ्चायतको विरोध गरेका कारण धनगढी जेलमा १ बर्ष बिताएर २०३१ सालमा गाउँ फर्केपछि जगमोहनको पहलमा जनसेवा मावि स्थापना गरेर त्यही पडाउँदै समाजलाई चेतना फैलाउन सुरु गरेका थिए। छट्टु समाजका चलाख वर्गले श्रम शोषण गर्थे, त्यसका विरुद्ध उनी आवाज निकाल्थे। जसको दुष्परिणाम उनी आज पनि बेपत्ता छन्।

‘बुवाको यादमा आमा यहाँ आउने गरेको परिवारलाई पनि थाहा थिएन। आमाले निरन्तर फुल र जल चढाउने यो ठाउँमा फुलको बगैँचा बनेछ। २०६६ मा म बनको अध्यक्ष बनेपछि स्मृति पार्क निर्माण सुरु गरिएको हो।’ जगमोहनीका छोरा निरञ्जन कुमार चौधरीले भने ‘अहिले यो रुख स्मृति रुख भनेर चिनिन्छ। यहाँ धेरै परिवारले एक एक वटा ढुङ्गा ल्याएर राख्नु भएको छ। आफन्तको स्मरणमा यहाँ आएर जल र फुल चढाउनु हुन्छ।’ बार बर्दिया नगरपालिका वडा न. १० सेम्रहवामा रहेको कुम्भर अड्डा बेपत्ता योद्धा स्मृति पार्क यति बेला पर्यटकको पर्खाइमा छ भने बेपत्ता परिवारहरू आफन्तको अवस्था थाहा पाउने अपेक्षामा छन्।

‘यही जङ्गलमा स्मृति रुखको अलि पर अर्को ठुलो मानव निर्मित स्मारक छ। बगैँचा, पोखरी अनि वनभोज स्थल पनि छ। स्मारकमा बेपत्ता हुँदाको समयको अवस्था चित्रण गरिएको छ।’ निरञ्जनले भने, ‘पीडित परिवारले यहाँ आउँदा गर्व फिल गर्छौ। के गर्दा, कुन अवस्थामा कस्ता मान्छे बेपत्ता पारियो त्यो सबै उल्लेख छ।’ नियालेर हेरियो भने पडाउँदै गर्दा, हलो जोत्दै गर्दा, सुतेको समयमा बेपत्ता पारिएकाको बुट्टा मार्फत चित्रण गरिएको देख्न सकिन्छ। ‘हरेक बर्ष ३० अगस्टमा बेपत्ता दिवसमा सबैले आफन्त सम्झिन्छौ।’ १६ जना माओवादी र २ सय ४२ सरकारी पक्षबाट गरी २ सय ५८ बर्दियामा बेपत्ताको सूचिमा छन्।

३५ हेक्टर अर्थात ५२ बिगाहा क्षेत्रफलमा रहेको यो पार्क भित्र संग्राहलय, कोसेली घर, क्यान्टिन समेत रहेको छ। प्रति व्यक्ति प्रवेश शुल्क २० रुपैयाँ लिइने यहाँ निर्माणको काम  अलि पहिले देखि सुरु भए पनि २०७४ साल देखि पार्क भनेर चिनिन थालेको हो। पार्क व्यवस्थापन समेत गर्दै आएका निरञ्जनका अनुसार यहाँ सरदर दैनिक ५०÷६० जना आन्तरिक पर्यटक आउँछन्। ‘अरु जिल्लाका बेपत्ता परिवारका सदस्य आउँदा हाम्रोमा पनि यस्तै बनाइदिए हुन्थ्यो भन्छन्’ उनले भने। स्थानीय तह, प्रदेश र सङ्घीय सरकारको सहयोग अनि समुदाय र बेपत्ता परिवारहरूको अग्रसरता पार्कलाई यो रुपमा ल्याउन सफल भएको हो।

महिला, शान्ति र सुरक्षा सम्बन्धी दोस्रो राष्ट्रिय कार्य योजना सम्पन्न गर्न सरकारले संयुक्त राष्ट्रसंघमा हस्ताक्षर गरेपछि उक्त कार्य योजना सफल बनाउन नागरिक आवाज ललितपुरको आयोजनामा नेपालगञ्जमा सम्पन्न प्रशिक्षक प्रशिक्षण तालिमका सहभागीहरूले उक्त पार्कमा पुगे पछि द्वन्द्व पीडितको मागका आधारमा यस्ता प्रकृतिका स्मृतिहरूको आवश्यकता रहेको बताएका थिए। 

प्रकाशित: २२ श्रावण २०८१ १७:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App