समाज

खोटाङको राजापानीमा बाघको श्रृङखलाबद्ध बिझाँई

फाइल तस्बिर

कैलालीको टीकापुरमा बजार छेउकै बस्तीमा बाघको आक्रमणले पशु चौपाया मारिरहेको खवर सार्वजनिक भईरहेका बेला खोटाङमा पनि बाघले बिझाँई गर्न थालेको छ। जिल्लाको हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीका विभिन्न गाउँमा जंगलबाट पसेको बाघले आतङक मच्चाईरहेको स्थानीयले बताएका छन्।  

सुन नदी र साप्सु खोलासँग जोडिएको जङ्गलबाट गाउँ छिरेको बाघले स्थानीयको खोरमै पसेर गाईका बाछा, भैंसीका पाडापाडी, खसीबाख्रा, कुकुर मारिरहेको स्थानीय बताउँछन्। यसले स्थानीयमा भने त्रास थपिएको छ।  

गत शनिबार विहान राजापानीका शम्भु भण्डारीको घरमा साङ्लोमा बाँधिराखेको कुकुर विहान मरिरहेको अवस्थामा भेटियो। हलेसी तुवाचुङ ११ को साविक राजापानी गाविस २ भोगटिनीका देविका चौहानको घरको खाटमा बाँधिएको कुकुर पनि बाँधेकै ठाउँबाट हराएपछि खोज्दै जाँदा बाघको पञ्जा (पाईला) भेटिएको र २० मिटर तल झाँडीमा टाउकोमात्र फेला परेको थियो।  

त्यसको भोलिपल्ट भण्डारीकै खोरको एउटा खसी पनि बाघले मारेको अवस्थामा भेटिएको स्थानीय बताउँछन् । तर, खोरबाट निकाल्न नसकेपछि बाघ खसीको रगतमात्र खाएर भागेको थियो। सोही दिन दिउँसो भोगटिनीकै अर्का एक किसानको बाख्रा चरणबाट घर फर्काउँदै गर्दा बाघले बाटो छेकेर आक्रमण गरी एउटा बोका मारेको छ। तर, गोठालाहरु मिलेर ढुंगा हान्दै धपाएर घर फर्केका छन्।  

एकपछि अर्को पशु मार्न थालेपछि गाउँमा बाघ आतङ्क मच्चिएको भन्दै स्थानीयले सुरक्षार्थ  प्रहरी प्रशासन र नगरपालिका गुहार्ने तयारी गर्न थालेका छन्। हलेसी तुवाचुङ ११ राजापानीका वडाध्यक्ष अनिश कार्कीले गाउँलेको माग अनुसार बाघको सुरक्षाका लागि प्रहरी प्रशासन र नगरपालिका गुहार्ने तयारी गरिरहेको बताएका छन्।  

जिल्ला प्रहरी कार्यालय खोटाङले भने बाघ गाउँ पसेको खवर आएको तर, उजुरी भने कसैले अहिलेसम्म नदिएको जनाएको छ। उता नगरप्रमुख बिमला राईले बाघ आतङ्क गाउँमा फैलिएको भन्ने सुनेको बताउँदै वन्यजन्तु सम्बन्धी कुरा भएकाले वन प्रशासनसँग सल्लाह गरेर सुरक्षाको तरिका अपनाउने बताईन्। गाउँघरमा मानव बस्ती घट्दै गएर वन जङ्गल बढ्दै गएकाले बाघ, भालुजस्ता वनयजन्तु बृद्धि भएको भन्दै उनले सतर्क भएर बस्न नगरबासीलाई आग्रहसमेत गरेकी छिन् ।  

प्रकाशित: २१ श्रावण २०८१ १६:३२ सोमबार

#Tiger #tiger attack #Khotang