समाज

टीकापुरमा बाघको आक्रमण बढ्यो

टीकापुर बजार नजिकैको बस्तीमा बाघको आक्रमण बढेको छ। बाघले गए राति टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नं. १७ स्थित दुई व्यक्तिका खोरमा रहेका छ वटा बाख्रा मारेको छ।

इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार बाघले स्थानीय बिजुसिँह बिट र दुर्गा परियारका ३/३ वटा बाख्रा मारेको छ। प्रहरी निरीक्षक लोकराज अवस्थीले मृत बाख्राको अवस्था हेर्दा बाघले नै आक्रमण गरेको हुनसक्ने बताए।

‘मरेका सबै बाख्राको घाँटीमा घाउ देखिन्छ र जहाँबाट रगत बगेको छ’ उनले भने, ‘शरीरको अन्य भागमा खासै चोटपटक देखिँदैन।’

बजार नजिकैको बस्तीमा बाघको आक्रमण देखिए पछि स्थानीयमा त्रास फैलिएको छ। बाघले मान्छेलाई समेत आक्रमण गर्न सक्ने भन्दै स्थानीय त्रसित बनेका हुन।

टीकापुर नगरपालिकासँगै जोडिएको जानकी गाउँपालिका वडा नम्बर ३ स्थित रानी कुलाको मुहान क्षेत्रमा बेलाबेलामा बाघ देखिने गरेको छ। स्थानीयका अनुसार सो बाघ डमरु सहित बेलाबेलामा स्थानीय कैलाशेश्वर सामुदायिक वन क्षेत्रमा देखिन्छ।

कर्णाली नदीको पश्चिमी किनारमा रहेको वन क्षेत्रमा जङ्गली जनावरको संख्या बढेको छ। यहाँ बाघ, हात्ती, गैँडा, बँदेल लगायतका जङ्गली जनावर देखिन थालेका छन्। तिनै जङ्गली जनावरले टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका विभिन्न स्थानमा क्षति पुर्‍याउने गरेका छन्।

घाँस दाउरा गर्न वन क्षेत्रमा प्रवेश गरेका केही व्यक्तिले जङ्गली जनावरको आक्रमणमा परेर ज्यान समेत गुमाइसकेका छन्। अहिले बाघले बजार नजिकैको बस्तीमा आक्रमण गरेपछि मानवीय क्षति हुनसक्ने भन्दै स्थानीय डराएका छन्। 

प्रकाशित: २१ श्रावण २०८१ १२:३८ सोमबार

#tiger attack #Tikapur