समाज

कर्णालीमा विपद्बाट नौ जनाको मृत्यु, दुई करोडभन्दा बढीको क्षति

कर्णाली प्रदेशमा गत जेठ २८ यता मनसुनजन्य विपद्का कारण दुई करोडभन्दा बढीको क्षति भएको पाइएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार डेढ महिनाको अवधिमा प्रदेशका १० जिल्लामा दुई करोड २८ लाख ५५ हजार नौ सय ३७ रूपैयाँ बराबरको क्षति भएको हो।

सबैभन्दा धेरै दैलेखमा ७० लाख रूपैयाँको क्षति भएको तथ्यांक छ। यहाँ २३ वटा विपद्जन्य घटना भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । जुम्लामा चार घटनामा ४० लाख क्षेति भएको देखिन्छ भने कालिकोटमा एक सय दुई मनसुनजन्य घटनामा १८ लाख ५० हजार नोक्सानी भएको छ।

डोल्पामा १६ वटामा १९ लाख ५० हजारको क्षति भएको तथा हुम्ला र मुगुमा कुनै पनि नोक्सानी नभए पनि यहाँ हालसम्म ३३ वटा मनसुनजन्य घटना भएका छन्। सुर्खेतमा १९ वटा विपद्का घटना भएका छन्, जसबाट १० लाखको नोक्सानी भएको छ।

यस्तै जाजरकोटमा ३३ वटा घटना हुँदा ३० लाख, सल्यानमा २४ वटा विपद्जन्य घटनामा ५१ लाख ३० हजार, रुकुम पश्चिममा ४७ मनसुनजन्य घटनाबाट १६ लाख ९९ हजारको नोक्सानी भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर ओलीले बताए।

यस्तै सोही अवधिमा कर्णालीमा मनसुनजन्य विपद्का घटनामा परी नौजनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्। यसमध्ये सुर्खेतमा दुई, दैलेखमा एक, जाजरकोटमा दुई, रुकुम–पश्चिममा चारको मृत्यु भएको हो। 

रुकुम–पश्चिमका एकजना अझै बेपत्ता रहेको प्रवक्ता ओलीले बताए । यसैबीच ४६ जना घाइते भएका छन्। घाइते हुनेमा जाजरकोटका २२, रुकुम पश्चिमका ११, कालिकोटका सात, दैलेखका चार, सुर्खेत र डोल्पाका एकएकजना रहेका छन्।

यसैगरी विपद्बाट कर्णाली प्रदेशभर ४५ परिवारका दुई सय पाँचजना विस्थापित भएका छन्। उनीहरूलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ। बाढीपहिराबाट डेढ महिनाको अवधिमा प्रदेशमा एक सय ६ पशुचौपाया मरेका छन् भने ४५ वटा घाइते भएका छन् भने ७५ वटा बेपत्ता छन्। यहाँ बाढीपहिरोले ७० घरमा पूर्ण र ५४ घरमा आशिंक क्षति पुगेको तथ्यांक छ।

यस्तै २७ साना उद्योगमा पूर्णरूपमा क्षति पुगेको छ भने दुई विद्यालय पूर्ण तथा दुई विद्यालयमा आंशिक क्षति पुगेको छ । चारवटा सरकारी कार्यालयमा बाढीपहिरोले क्षति पुग्दा दुईवटा संघसंस्थाका भौतिक संरचनामा क्षति पुगेको छ।

प्रकाशित: २१ श्रावण २०८१ ०७:२८ सोमबार

#Monsoon disaster #Karnali Province #State Police Office