समाज

युवती हत्याको सत्यतथ्य छानविन गर्न माग

सुर्खेत – कर्णाली प्रदेशका सांसदहरूले पञ्चपुरी नगरपालिकाको बावियाचौरमा एसईई परीक्षा दिन आएकी युवती हत्याको सत्यतथ्य छानविन गरेर सदनलाई जानकारी गराउन माग गरेका छन्। 

प्रदेश संसदको शुक्रबार बसेको बैठकमा शून्य समयमा बोल्ने सांसदहरूले परीक्षा दिन आएकी युवती हत्यामा प्रहरीको पनि संलग्नता हुनु गम्भीर विषय भएको प्रदेश सरकारले यथार्थ छानविन गरेर संसदलाई जानकारी गराउन माग गरे।

बाबियाचौरमा एसईई परीक्षा दिनका लागि कोठा भाडामा बस्दै आएकी सालकोटकी १८ वर्षीया युवती गोरीकला रोकायको मंगलबार बिहान हत्या भएको थियो । सांसद विन्दमान विष्टले रोकायको हत्यामा प्रहरी संलग्न हुनु गम्भीर विषय भएको भन्दै सत्यतथ्य छानविन गरेर संलग्नलाई कारवाही गर्नुपर्ने बताए । ‘प्रहरी नै नागरिकको हत्यामा संलग्न हुनु गम्भीर विषय हो’ उनले भने, ‘यो घटनाको सत्यतथ्य छानविन गरेर सदनलाई जानकारी गराउन माग गर्छु।’

सांसद पद्मा खड्काले छात्रा गोरिकला रोकायको हत्याले सिंगो कर्णाली प्रदेशलाई असुरक्षित बनाएको बताइन् । ‘रोकायको हत्यामा संलग्न पक्राउ परेपनि अहिलेसम्म पोष्मार्टम रिपोर्ट सार्वजनिक गरिएको छैन्’ उनले भनिन्, ‘यसतर्फ प्रदेश सरकार गम्भीर हुन जरुरी छ।’ उनले महिलालाई स्वतन्त्रपूर्वक हिँडडुल गर्ने वातावरण नरहेको भन्दै सुरक्षाको प्रत्याभूति सरकारले गर्नुपर्ने बताइन्।

सांसद मिनासिंह रखालले दिनदिनै महिला मारिने र हिंसामा पर्ने घटनाहरू बढ्दै गएको भन्दै महिलामाथि हुने हिंसा रोक्नका लागि सरकारको ध्यानाकर्षण गराइन् । उनले दैलेखमा एक साताअघि श्रीमानले श्रीमतीको गुप्ताङ्गमा आगो लगाएको घटनाको पनि छानविन हुनुपर्ने माग गरिन् । महिलाहरू श्रीमानबाटै सुरक्षित नहुने अवस्था सृजना भएको बताउँदै उनले यस्ता घटनामा संलग्नहरूलाई कडाभन्दा कडा कारवाही हुनुपर्ने बताइन्।

सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले युवती हत्याको छानविनका लागि प्रदेश सरकारले केन्द्रीय अनुसन्धान ब्यूरोको टोली मगाएको बताए । ‘घटनामा संलग्नहरूलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ’ उनले भने, ‘जिल्लासँगै केन्द्रको टोलीले पनि घटनाका बारेमा छानविन गर्छ ।’ उनले प्रदेशको समृद्धि र विकासको आधार पर्यटन भएकाले सरकारले कर्णाली–रारा पर्यटन वर्ष मनाउन लागेको बताए। 

‘मुख्यमन्त्रीको संयोजकत्वमा रहेको समितिमा तपाईहरू सबै सदस्य हुनुहुन्छ’ ज्वालाले भने, ‘संसदको अर्को बैठकमा यो सम्बन्धी संकल्प प्रस्ताव ल्याउँछौं ।’ सभामुख राजबहादुर शाहीले संसदमा उठेका सांसदका जिज्ञासाको जवाफ दिन सम्बन्धित विभागीय मन्त्रीहरूलाई अर्को बैठकमा उपस्थित हुन निर्देशन दिएका छन् । संसदको अर्को बैठक चैत २० गते बस्ने छ।

प्रकाशित: १६ चैत्र २०७४ १२:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App