समाज

काष्ठमण्डप पुनःनिर्माणका लागि प्रमुख शाक्यलाई ज्ञापनपत्र

काठमाडौँ –  स्थानीय नागरिक दबाब अभियानको तर्फबाट काष्ठमण्डप पुनःनिर्माणका लागि काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई ज्ञापनपत्र बुझाइएको छ। 

नागरिक दबाबका लागि अभियानको तर्फबाट संयोजक भगवती जोशीले प्रमुख शाक्यलाई शुक्रबार छ बुँदे ध्यानाकर्षणसहितको ज्ञापनपत्र बुझाएकी हुन्। 

ज्ञापनपत्रमा भनिएको छ, “ऐतिहासिक तथा गौरवको आधारस्तम्भका रुपमा रहेको काष्ठमण्डपलगायतका महत्वपूर्ण सम्पदाको पुनःनिर्माणको सवालमा महानगरको तर्फबाट ढिलासुस्ती भएको भन्दै तत्काल सम्बोधन गर्न माग गरिएको छ।” 

बढ्दो अव्यवस्थित पार्किङ र अनियन्त्रित तरकारी बजारको व्यवस्थापन एवं असन क्षेत्रमा जस्तै चारपाङ्ग्रे सवारी निषेधका लागि अन्य भित्री शहरमा पनि काम गर्न माग गरिएको छ। 

त्यस्तै आपत्कालीन सवारी साधनलाई सहज बनाउन ट्राफिक व्यवस्थापन गर्नुपर्ने, फुटपाथ हटाउनुपर्ने र हनुमानढोकामा भाषणको कार्यक्रम गर्न निषेध गरिनुपर्नेजस्ता माग गरिएको छ। 

ज्ञापनपत्र बुझ्दै महानगर प्रमुख शाक्यले ध्यानाकर्षणपत्रमा उठान गरिएको माग सम्बोधनका लागि आफू एकदम सकारात्मक रहेको बताए। 

स्थानीय संघसंस्थाका प्रतिनिधि र स्थानीय क्षेत्रबाट निर्वाचित प्रदेश तथा संघीय संसद्का सांसदहरुसँगको सल्लाहमुताविक आवश्यकताअनुरुपको समिति गठन गर्दै निर्माण कार्य शीघ्रातिशीघ्र आरम्भ गर्ने तयारी रहेको पनि शाक्यले जानकारी दिए। 

उनले थप मागको सम्बन्धमा भने महानगरको तर्फबाट सहयोगमा स्थानीय वडा समितिलाई स्थानीयवासीको सहकार्यमा काम गर्न तत्काल निर्देशन दिइने बताएका छन्। 

विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण काष्ठमाण्डप, धरहरा रानीपोखरीजस्ता ऐतिहासिक सम्पदामा क्षति पुगेको थियो।

प्रकाशित: १६ चैत्र २०७४ ०९:१८ शुक्रबार

काष्ठमण्डप पुनःनिर्माणका लागि प्रमुख शाक्यलाई ज्ञापनपत्र