समाज

जापानी ‘विदेशमन्त्री प्रशंसा पुरस्कार’ त्रिविका कामिमुरालाई

जापानको विदेश मन्त्रालयले त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय भाषा क्याम्पस (विश्व भाषा क्याम्पस) का जापानी भाषा विभाग प्रमुख कामिमुरा यशिहरुलाई २०२४ का लागि ‘विदेशमन्त्री प्रशंसा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ।

कामिमुराले सन् २००४ देखि विभाग प्रमुखका रूपमा आधारभूतदेखि उच्चस्तरसम्मका विद्यार्थीहरूलाई जापानी भाषा सिकाउँदै आएका छन्। 

नेपाल र जापानबीचको आपसी समझदारी र मित्रताको विकासमा उनले पुर्‍याएको महत्त्वपूर्ण योगदानको कदर स्वरूप उनलाई ‘विदेशमन्त्री प्रशंसा पुरस्कार’ प्रदान गर्न लागिएकाे नेपाल स्थित जापानी राजदूतावासले जनाएकाे छ।

राजदूतावासका अनुसार कामिमुराले क्याम्पसमा जापानी संस्कृति, इतिहास र साहित्यकाबारेमा पनि अध्यापन गराउँदै आएका छन्। साथै जापानी भाषा शिक्षक संघ, नेपाल (जाल्टान) का सल्लाहकारका रूपमा उनले जापानी भाषा दक्षता परीक्षा (जेएलपीटी), जापानी भाषण प्रतियोगिता र जापानी कराओके प्रतियोगिता जस्ता सांस्कृतिक गतिविधिहरूको निरीक्षण गर्दै आएका छन्।

विदेशमन्त्रीको प्रशंसा पुरस्कार अन्तर्राष्ट्रिय क्षेत्रहरूमा विशिष्ट उपलब्धिहरू हासिल गर्ने व्यक्तिहरू र समूहहरूलाई प्रदान गर्ने गरिन्छ।

प्रकाशित: १७ श्रावण २०८१ १९:२४ बिहीबार