समाज

प्रहरीको ‘आडै’ मा सरकारी धराप !

२०७२ को भूकम्पले क्षतिग्रस्त पारेर ९ वर्ष देखी धराप बनेको दोलखाको सदरमुकाम चरिकोट स्थित तत्कालीन जिल्ला कृषि विकास कार्यालयको भवन। तस्बिर: रमेश/नागरिक

सदरमुकाम चरिकोट स्थित जनपद र सशस्त्र प्रहरी, मालपोत, टेलिकम जस्ता सरकारी अड्डाहरुको आडैमा ९ वर्ष देखि कृषि मन्त्रालय अन्तर्गतको एउटा धराप भवन छ।

२०७२ सालको भुईँचालोमा धराप बनेको तत्कालीन कृषि विकास कार्यालय दोलखाको यो भवन पन्छाउन कृषि मन्त्रालय र यसका कुनै पनि निकायले चासो दिएका छैनन्। धरापकै बिचबाट वरपरका सरकारी कार्यालयका मानिसहरु आउजाउ गर्न थालेको ९ वर्ष बित्दा पनि पन्छाउन सरकारी नजर परेको छैन।

मंगलबार त्यही भवन अगाडीबाट ओहोरदोहोर गर्ने बाटोमा पलाएको झाडी सफा गर्दै गर्दा धराप भवनको गाह्रो भत्किएर कृषिकै कर्मचारी चेपिनबाट धन्न जोगिएका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको चरिकोट सम्पर्क कार्यालयका सहयोगी कर्मचारी गोविन्द चौलागाई र वेदप्रसाद सापकोटा मंगलबार दिउँसो झाडी सफा गर्दा गर्दै भवनको दक्षिण तर्फको गाह्रो भत्किएको थियो।

‘सफा गर्दै थियौं, कर्‍याक्क कुरुक गर्दै झ्याल कराउँदै थियो, एक्कासि गाह्रो लड्यो’  चौलागाईने भने ‘दुवैले एक सेकेन्डमा पल्लो पाटामा हाम फालेर ज्यान जोगायौँ।’

तत्कालीन जिल्ला कृषि विकास कार्यालयको यो भवन भूकम्पले धराप पारेपछि तल तिर रहेको अर्को भवनमा कार्यालय सारिएको थियो। संघीयता पछि कृषि विकास कार्यालय हट्यो। रामेछापमा खुलेको प्रदेश अन्तर्गतको कृषि ज्ञान केन्द्रले दोलखा समेत हेरेपछि त्यही नयाँ भवनमा ज्ञान केन्द्रको दोलखा सम्पर्क कार्यालय राखियो।

संघले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना दोलखाको कार्यालय त्यही नयाँ भवनमा स्थापना गर्‍यो। पछि उक्त कार्यालय समेत रामेछाप सरेर सम्पर्क कार्यालय मात्र यहाँ बस्यो। हाल नयाँ भवनमा दुवैका सम्पर्क कार्यालय छन् जहाँ एक दर्जन कर्मचारी काम गर्छन्। तत्कालीन जिल्ला कृषि विकास कार्यालयको नाममा रहेको भवन र जग्गा हाल संघ अन्तर्गत कृषि मन्त्रालयको मातहतमा पर्छ। 

कार्यालय आउजाउ गर्दा कर्मचारी सधैँ धराप भवन अगाडीबाट जोखिममा हिँड्ने गरेको सम्पर्क कार्यालय चरिकोटका प्रमुख नन्दराज ओलीले सुनाए।

‘हामी धरापकै बिचबाट हिँड्न थालेको ९ वर्ष भइसक्यो’ उनले भने ‘माथिल्लो निकायमा पन्छाइदिनु भनेर धेरै पटक आग्रह गर्‍यौ, एक पटक त मन्त्री ज्यु जिल्ला आउँदा पनि ल्याएर देखाएका थियौं, खै किन हो पन्छाउने निर्णय हुनै सकेन।’

छेवैमा रहेको मालपोत कार्यालयमा भिड लाग्दा सेवाग्राही कहिलेकाहीँ टहलिन धराप भवन छेउछाउ जाने गरेका कारण भवनले असाध्यै जोखिम बढाएको मालपोतका कर्मचारी लेखनाथ चौलागाईले सुनाए। पञ्चायतकालमै बनेको धराप भवनमा बलिया र महँगा साल लगायतका काठहरु ठुलो मात्रामा रहेको छ।

धराप भवनसँगै जिल्ला प्रहरी कार्यालय, मालपोत, सशस्त्र प्रहरी गुल्म, टेलिकम लगायतका कार्यालय जोडिएका छन्। भुईँचालो पछि सरकारी भवनहरु भत्काउने र नयाँ निर्माण गर्न अर्बौँको परियोजना चलाइएपनि पञ्चायत कालमै निर्माण भएको यो भवन हटाउन सरकारी निकायले बेवास्ता गरेको गुनासो वरपरको कार्यालयका सरकारी कर्मचारीले गर्ने गरेका छन्।

घरहरु भत्कँदा सरकारको तर्फबाट उद्धार र राहतमा खटिने जनपद र सशस्त्र प्रहरीको आडैमा सरकारले ९ वर्ष देखी यो धराप भवन राखेर क्षति र उद्धारको अभ्यास कार्य पर्खिरहेको भन्दै वरपरका सरकारी कर्मचारी र सर्वसाधारणले ठट्यौली गरेर सरकारको खिल्ली उडाइरहेका छन्।

प्रकाशित: १६ श्रावण २०८१ १९:४६ बुधबार