समाज

बाढी र डुबान : काठमाडौँ उपत्यकाका तीन जिल्लाबाट ७० जनाको उद्धार

मंगलबार रातिको भारी वर्षापछि आएको बाढी र डुबानमा परेका ७० जनाको काठमाडौँ उपत्यकाका तीन जिल्लाबाट उद्धार गरिएको छ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयले दिएको जानकारीअनुसार सो क्रममा उपत्यकामा एक जनाको खोलाले बगाएर मृत्यु भएको छ।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले काठमाडौँमा १० पुरुष, ६ महिला र दुई बालबालिका गरी १८ जना तथा ललितपुरका १३ पुरुष आठ महिला र तीन बालबालिका गरी २४ जनाको उद्धार गरिएको छ।

यस्तै भक्तपुरमा १३ पुरुष, ११ महिला र चार बालबालिकागरी २८ जनाको उद्धार भएको मैनालीले जानकारी दिए।  

उनका अनुसार काठमाडौँमा बाढीले बगाएर एक जनाको ज्यान गएको छ । काठमाडौँको सुकुम्बासी टोलमा बस्दै आएका बाँकेका ४५ वर्षीय रामस्वरुप महतोको बल्खु पुलमुनि अड्किएको अवस्थामा बिहान शव फेला परेको हो ।  

प्रहरीले उपत्यकाका तीनवटै जिल्लाबाट सात सयभन्दा बढी पशुचौपाय तथा कुखुराको पनि उद्धार गरिएको छ । मंगलबाररातिको भारी वर्षा पनि उपत्यका भएर बग्ने सबै खोला तथा नदीमा बहाब बढ्दा नदी किनारका धेरै क्षेत्र डुबानमा परेका थिए ।  

प्रकाशित: १६ श्रावण २०८१ १९:३२ बुधबार

#flood #Kathmandu Valley Police Office #Kathmandu Valley