समाज

कपिलवस्तुमा एक वर्षमा ७ हजार ७६९ महिला बने जग्गाको मालिक

रजिस्ट्रेसनमा छुट पाउने प्रावधानले कपिलवस्तुमा महिलाको नाममा भू– स्वामित्व बढ्दै गएको छ। केही वर्ष अघि सम्म नगन्य मात्रामा महिलाको नाममा जग्गा पास हुने क्रम अहिले उत्साहजनक रुपमा वृद्धि भएको देखिन्छ।

सरकारले महिलाको नाममा जग्गा रजिस्ट्रेसन पास गराउनेलाई राजस्वमा विशेष छुटको व्यवस्था गरे पछि जिल्लामा महिलाको नाममा उल्लेखनीय रुपमा भूस्वामित्व बढेको हो । 

जमिनमा महिलाका स्वामित्व बढाउन छुट पाइने भए पछि महिलाहरूको नाममा जग्गा पास गर्ने क्रम निरन्तर बढ्दै गएको हो । जग्गा किन्दा लाग्ने दर्ता शुल्कमा सरकारले २५ प्रतिशत छुटको सहुलियत दिएको छ । यसैको फाइदा उठाउँदै घर परिवारले महिलाको नाममा धमाधम जग्गा पास गराई रहेका छन् । विगत ढेड दशक देखि सरकारले महिलाको नाममा जग्गा किन्दा लाग्ने रजिस्ट्रेसन शुल्कमा छुटको सहुलियत दिए पछि उनीहरूको नाममा जग्गा पास गर्नेको संख्या ह्वात्तै बढेको हो । ‘ यो प्रावधान नहुँदा सम्म नगन्य मात्रामा महिलाको नाममा जग्गा पास गराईन्थो भने अहिले धमाधम महिला कै नाममा जग्गा पास भइरहेको छ । ’ भूमिसुधार तथा मालपोत कार्यालय तौलिहवाका प्रमुख खेम नारायण पौडेलले ले भने  ‘ अहिले मालपोतमा महिलाको भीड नै लाग्ने गरेको छ । ’ 

मालपोत कार्यालय चन्द्रौटाका अधिकृत लक्ष्मण प्रसाद चालिसेले छुट पाउने भए पछि पुरुषहरू नै महिला कै नाममा जग्गा पास गर्न अग्रसर भएको बताए । उनले छुट कै कारण भए पनि महिलाहरु जग्गाको मालिक  बनीरहेको बताए । छुट दिए पछि महिलाहरूको नाममा जग्गाको स्वामित्व बढ्दै गएको मालपोतका कर्मचारीहरू बताउँछन् । गत आर्थिक वर्ष २०८०/०८१ मा कपिलवस्तुमा ७ हजार ७७९ जना महिला जग्गाको मालिका बनेका छन् । जसमध्ये भूमिसुधार तथा मालपोत कार्यालय तौलिहवामा ५ हजार ५८४ र मालपोत कार्यालय चन्द्रौटामा २ हजार १८५ जनाको नाममा जग्गा पास भएका छन् । गत आर्थिक वर्षमा मालपोत कार्यालय तौलिहवामा कुल ६ हजार ५७० र मालपोत चन्द्रौटामा ५ हजार १३२ लिखित पास भएका थिए । 

आर्थिक वर्ष २०७९/०८० मा कपिलवस्तुमा ६ हजार ८०२ जना महिलाको नाममा जग्गा पास भएको थियो । गत वर्ष महिलाको नाममा रजिस्ट्रेसन पास हुँदा ३ करोड बढी छुट भएको थियो । सरकारले गरेको छुटको प्रावधानलाई जिल्लाका महिला अधिकारकर्मीले सराहनीय र महिलाका लागि खुसीको कुरा भएको बताएका छन् । ‘ पहिला पहिला महिलाको नाममा जग्गा दर्ता गर्न पुरुषहरू आनाकानी गर्थे तर छुटको व्यवस्था लागु भए पछि धमाधम महिलाको नाममा जग्गा दर्ता भइरहेको छ ।’ अधिकारकर्मी  पुष्पा रेग्मीले भनिन  ‘ यो प्रावधानले केही सकारात्मक सन्देश गएको छ ।

 ’ महिलाको नाममा जग्गाको स्वामित्व आए पनि किनबेचमा भने पुरुषहरू नै हाबी हुने गरेको महिला अधिकारकर्मीहरू गुनासो गर्छन । लालपुर्जा रुपी कागजमा अधिकार आएको देखाई पनि त्यसको प्रयोगमा भने पुरुषहरू नै हाबी हुने गरेका अधिकारकर्मी बताउँछिन् । स्वामित्व हस्तान्तरण भएकै कारण महिला हिंसा समेत बढेको अर्की महिला अधिकारकर्मी माधुरी श्रेष्ठको भनाई छ । ‘ यही कारणले कतिपय महिलालाई हिंसा सहन बाध्य तुल्याएको छ , ’ उनले भनिन ‘ महिलाको नाममा जग्गा त आयो तर अधिकार आएन । ’‘आफ्नो नाममा रहेको जग्गा बेचबिखन गर्न खोज्दा परिवारका अन्य सदस्यले बिभिन्न अड्चन लगाउने गर्छन यसलाई कसरी महिलाको नाममा सम्पत्ति आयो’ उनले भनिन  ‘ लालपुर्जामा महिलाको नाम लेखिनुलाई स्वामित्व नाममा आयो भन्न मिल्दैन । ’ उपभोग गर्न पाए मात्र स्वामित्व प्राप्त भएको भन्न मिल्ने उनको भनाई छ । सरकारले गरेको यो सकारात्मक कार्यको सही कार्यान्वयन हुनका लागि ठोस पहल गर्नु पर्ने उनले बताईन । 

प्रकाशित: १६ श्रावण २०८१ १६:५४ बुधबार