समाज

लोकोपकारमा रमाइरहेका लीलाधर

अनुभव

कथाले बनाएको बाटो र बाटोले बनाएका कथाहरूको अलिखित दस्ताबेज हो लीलाधर कँडेलको अविराम जीवन यात्रा। जीवनका कठिन घुम्तीहरूमा पनि ह्यान्डिल मजाले घुमाउन जानेका लीलाधरले जीवनमा सत्य र सेवाको हर्न बजाउन कहिल्यै छोडेका छैनन्। समाजले चिन्नु र सञ्चारले चिन्नुमा धेरै अन्तर छ। लीलाधर समाजले चिनेका तर सञ्चारले नचिनेका पात्र हुन्।

अनौपचारिक शिक्षाअन्तर्गत वेद, चण्डी र रुद्री उनका गुरु हरिप्रसाद निउनेले पढाउनुभयो। गुरु शारीरिक रूपमा अपाङ्ग भए तापनि उहाँको शिक्षा दिने शैलीले जोकोही पनि सजिलै जीवनमा सबालाङ्ग हुन सक्थे। त्यति बेला पढ्न कहाँ समय पाइन्थ्यो र ? त्यसैले उनले दिनभरि घरको काम गर्थे र बेलुकी गुरुसँग पढ्थे।

उनको उमेर ८ वर्ष चल्दै थियो। खेल्ने, डुल्ने उमेरमा उनी जिन्दगीको कठिनाइबाट गुज्रिदै थिए। उनीहरूको घुमाउने घर त्यति गतिलो थिएन। बर्खामा पानी र सर्पको डर खुब हुन्थ्यो।

२०१४ सालमा त्यसैले उनी आठ वर्षको उमेरमा आफैंले ढुङ्गा बोके र दुई जना कर्मी हाले र दुई सय ४० रूपैयाँमा आफू बस्ने घर आफैंले बनाए। २०१६ असार १४ गते राति उनको परिवारमाथि चट्याङले बज्रपात बर्सायो। गोठका ब्याउने बेलाका दुई भैंसी र एक गोरु मरे तर एउटा पाडो र लीलाधरका नातिबाजे भने बाँचे। एकातिर उनीहरू र अर्कातिर गाईभैंसी बस्ने गोठमा उनीहरूले मृत्युलाई नजिकबाट दर्शन गरे।

आफ्नैअघि मध्यरात्रिमा देखिएको त्यो दर्दनाक दृश्यले उनीहरूलाई मानसिक रूपमा विक्षिप्त बनायो अनी उनीहरू गोठ भएको स्थानबाट आफ्नै घरसम्म औंसीको अँध्यारो र मुसलधारे वर्षाबिच फर्किए। त्यतिखेर भैंसीको दाम चार सयदेखि पाँच सयसम्म पथ्र्यो। यो घटनाले उनको परिवारमा थप आर्थिक चट्याङ  पनि प¥यो।

तेह्र वर्षको उमेरमा २०१९ माघ २१ गते आइतबारका दिन लीलाधर र चन्द्रकलाका बिच बिहे सम्पन्न भयो। दौरामा सजिएका लीलाधरको फोटो त छैन तर उनले पंक्तिकारसँग बताएका प्रसङ्ग भने रमाइला छन्। जाडो महिना, तुसारो, जुत्ताचप्पल बिनाको यात्रा, रात्रिको बिहेका निम्ति टाउकोमा माउर लगाएर बागलुङको दमेक गाविसस्थित चैराक पुगे। झ्याले टपरीमा खाना खाए अनि मण्डपमा बसे।

जुत्ता लुकाउने चलन नभए पनि फेटा खोस्ने चलन थियो त्यतिबेला। लीलाधरले फेटा खोसेको पाँच पैसामा उम्काए। तरुनीहरूले पछाडिबाट रुने गरी चिमोट्थे उनलाई। दुलाहा चिच्याउन मिल्दैनथ्यो। बिठ्याइँ गरेर कसैले दुलाहाको दौरामा रसी बाँधी उठ्नै नसक्ने गरी किलो ठोकेर बाँधी दिन्थ्यो। केटाकेटी उमेर, खुब आपत्ले त्यो रातको बिहे कटाए उनले।

त्यतिखेर उनले बिहे एक सय ४० रूपैयाँमा सम्पन्न भएको थियो। २०२० सालमा लुकीचोरी गरेर त्यहाँको विद्यालयबाट कक्षा ५ सम्मको अध्ययन गरे। त्यतिखेर आधुनिक शिक्षालाई गाईखाने विद्याको भाष्य तयार गरिएको थियो। त्यसपछि उनको देश देशावरको यात्रा सुरु भयो। खर्च जुटाएर सर्टिफिकेट चोरे अनि भारत लागे।

बागलुङबाट नौतुनासम्म चार दिनको पैदल यात्रा गरे। बाटोमा प्युठानका दुई साथी भेटिए। कानपुर जानलाई रेलको टिकट काटेका थिए तर रेलले हरिद्वार पुर्‍याइदियो। त्यतिखेर उक्त रुटको टिकटको मूल्य १० रूपैयाँ भारु थियो। उनको खल्तीमा जम्मा तीस रूपैयाँ थियो।  

जसोतसो कानपुर पुगेका लीलाधरले चिया पसलमा काम सुरु गरे। कोइलामा चिया पकाउनुपथ्र्यो। कार्यालयमा चिया पुर्‍याउनुपर्थ्याे। गिलाँस फुटे साहुले ‘उल्लु के पट्ठे, गिलाँस फोड के ल्याया’ भन्दै हकाथ्र्यो।

यसरी नै चल्दै थियो मासिक ६ रूपैयाँ भारुको जागिर। लीलाधर विनम्र स्वभावका थिए तर एक दिन साहुको छोराले जातिबित्ती गिजाएपछि लीलाधरले झम्काइदिए। त्यसपछि मालिकले उनलाई तीन महिनाको तलब दिएन। तर, काम गर्दा उनले १० रूपैयाँ भारु जति टिप्स कमाएका थिए।

उक्त घटनापश्चात् उनले कानपुर छोड्ने र दिल्ली जाने निधो गरे। त्यतिबेला कानपुरदेखि दिल्लीको रेलको टिकट खर्च १० रूपैयाँ भारु लाग्थ्यो। त्यसपछि उनी दिल्ली पुगे।

खल्तीमा सुको थिएन। एक महिना काम पाइएन। दिउँसो एक छाक रोटी मागेर खान्थे, बेलुकी इमलीको रुखमुनि सुत्थे। तारा गन्थे। त्यतिखेर उनको उमेर १५ वर्षको थियो।

समय फेरियो। एक महिनापछि लीलाधरले बागलुङका एक मान्छेलाई भेटे र उनले नयाँ दिल्लीस्थित झन्डैवाल दुर्गा मन्दिरमा फूल बेच्ने काम लगाइदिए। त्यो ठाउँमा उनले छ महिना काम गरे।

त्यसपछि उनका गाउँका काशीराम दिल्लीराम र रामचन्द्रसँग भेट भयो। दिल्ली दरियागन्ज बोलाएका साथीहरूले उनलाई मोतीमहल होटलमा काम लगाइदिए। त्यस ठाउँमा पनि उनले तीन महिना मात्र काम गरे। त्यसपछि एक वर्षको बसाइपछि उनी २०२१ सालमा नेपाल फर्किए। त्यतिखेर उनकी हजुरआमाको ६५ वर्षको उमेरमा निधन भएको थियो। उनको उमेर जम्मा १६ वर्षको थियो त्यसबखत।

हजुरबा रोगी हुनुहुन्थ्यो तर उहाँले लीलाधरको जीवनमा अमूल्य योगदान दिनुभएको थियो। त्यसैले उनले पाँच वर्ष हजुरबाको स्याहारसुसार गरे। ७२ वर्षको उमेरमा हजुरबाको निधन भयो।

त्यसपछि परिवारमा झन् झन् आर्थिक संकटको घडी आइलाग्न थाल्यो। उनको प्रथम सन्तानका रूपमा छोरी उजेलीको जन्म भएको थियो भर्खर। बारीमा ३० पाथी कोदो र एक मुरी धान मात्र उत्पादन हुन्थ्यो। जसले गतिलोसँग तीन महिना पनि खान पुग्दैनथ्यो।  

एक दिन अकल्पनीय घटना घट्यो। मध्यरातमा उनको खेतबाट पाकेको धान बोटबाट नै लुटियो। भोको पेटलाई भएको के प्रवाह भन्दै उनी घरमा गड्यौली छोरी र सुत्केरी श्रीमतीलाई छोडेर मद्रास गए।

त्यहाँ रहँदा इन्डियन इन्सटिच्युट अफ टेक्नोलोजीमा मासिक साठी रूपैयाँ भारु सेवा सुविधासहित चौकीदारीको काम थाले। त्यहाँ रहँदा उनले अंग्रेजी भाषा सिके र दुई वर्षको सेवापछि उनी टुरिस्ट होटलमा काम थाले। साथै त्यतिखेरको तामिल चलचित्रका चर्चित अभिनेत्री तथा चन्यैका मुख्यमन्त्री जयललिता र रामचन्द्रनको सुटिङमा ड्रेसिङको काम गर्थे।  

२०४३ सालमा लीलाधरका बुबाको निधनपछि होटलमा ११ वर्षको सेवा टुङ्ग्याए र नेपाल फर्किए। त्यसपछि उनको जीवन व्यक्तिगतबाट सामूहिकतर्फ लम्कियो।

२०४७ सालमा साबिकको बिहु गाविस वडा नं. ९ मा वडाध्यक्षका रूपमा निर्विरोध चुनिए। पाँच वर्षमा उनले काकाकुल कर्लिम गाउँमा खानेपानी योजना सम्पन्न गरे। उक्त योजना सम्पन्न गर्न गाउँपालिकाको १० हजार र स्वयं लीलाधर दिल्ली गएर ८५ हजार चन्दा रकम संकलन पनि गरेका थिए। दुई दिनको बाटो लाग्ने नौडाँडाबाट पाइप बोकेर कर्लिमसम्म भरिया र स्वयंले गरेर पुर्‍याए।

कर्लिम लेखानीको खानेपानीमा युद्ध नै चल्यो त्यतिबेला। तर, अन्त्यमा फैसला भने लीलाधरको पक्षमा भयो। ज्ञानको विस्तार गर्न श्री कर्लिम प्राविमा (१–३) कक्षालाई बढाएर (१–५) कक्षासम्म पुर्‍याउनुका साथै विद्यालयको जीर्ण भवनको स्तरउन्नोति गरे। जन र मन जोड्न खानीखोला र अँधेरीखोलामा दुई झोलुंगे पुलको स्थापना गर्न उल्लेखनीय भूमिका खेले।

माइली छोरी ईश्वरीको विहेपश्चात् २०५३ सालमा बागलुङबाट बाँके जिल्लाको कोहलपुर बसाइँ सरे। त्यहाँ पनि उनको समाजसेवाको यात्रा निरन्तर चलिरह्यो। उनले कोहलपुरको ज्ञानज्योति प्राविलाई मावि बनाउन उल्लेखनीय योगदान गरे।

सहिद सम्झना सामुदायिक वनको प्रारम्भ गरे, ‘सिर्जना दुग्ध सहकारी’को स्थापना गरेर सयौं मान्छेको आर्थिक उन्नयनमा मद्दत गरे। ‘सहिद सम्झना बाल विकास’को स्थापना र संस्थापक अध्यक्ष बनेर सेवा गरे।

२०६९ सालमा पुनः भरतपुर महानगरपालिका–७, चितवनमा बसाइँ सरेका लीलाधर यहाँ पनि समाजसेवामा उत्तिकै जागरुक छन्। उनी पढ्न र लेख्न खुब रुचि राख्छन्। बिपी कोइरालासँग नजिकबाट संगत गरेका लीलाधर समाज र राष्ट्रभक्तिका कविता लेख्दै भगवान् श्रीकृष्णको भक्तिमा तल्लीन छन्। उनका फुटकर कविताहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित छन्। २०७८ सालको मध्यकोरोनाकालमा मुटुको बाइपास सर्जरीपश्चात् लीलाधरले नौ दिनको आइसियु बसाइँलाई जीवनकै कष्टकर समयका रूपमा चित्रण गर्छन्।

हास्यव्यङ्ग्य शैलीले भरिपूर्ण उनको जीवनशैली निकै लोभलाग्दो छ। उनमा पुराना प्रसङ्गहरू सुनाएर बेजोडले भन्न सक्ने शक्ति छ। कल्याणकारी कार्य र अध्यात्मलाई जीवनको अस्तित्वको अर्थ मान्ने लीलाधरले खुसी, सुखी र सन्तुष्टिको जीवन बिताएका छन्। साहित्यिक शैलीमा उनी भन्छन्, ‘पूर्णविराम नलाग्दासम्म बाँकी जीवन मस्तसँग अनि अर्थपूर्ण बिताइन्छ।’

प्रकाशित: १२ श्रावण २०८१ १२:१४ शनिबार

#Experience #continuous journey of life