समाज

मादल त बनाउँछौ तर कसले बजाइदेला ?

पुस्तौँदेखि मादल बनाउने पेसामा रहेका भक्तपुरका हरि शकर कुलजू

मादलमा खरी हाल्ने, बर्ता कस्ने अनि स्वर भर्ने काममा खप्पिस छन् भक्तपुर नगरपालिका वडा नं ६ का ५२ वर्षीय हरिशंकर कुलजू। आफना बुबाबाट मादल बनाउन सिकेका उनी विना औपचारिक तालिम मादल बनाउन खप्पिस छन । उनको दस जनाको परिवार मादल बनाउने पुख्र्यौली पेसामै रहेर कामलाई निरन्तरता दिइरहेका छन् । उनको परिवार सिजनको बेलामा व्यस्त हुन्छन्।

आफनै चार तल्ले घरको भुईतल्लाको कवलमा बसेर मादल बनाउँछन् उनी । उनले पसलमा तयार गरिएका मादल पनि राखेका छन्, कोही किन्न आए बेच्नलाई । साथै अर्डरको अनुसार पनि मादल बनाउँछन्। 

उनका अनुसार भक्तपुरमा मादल बनाउने उनी एक्ला हुन। उनको परिवारले नै मादल बनाउने पेसा धानिरहेका छन् । तर पनि उनमा चिन्ता छ, मादल बजाउने पुस्ता बिस्तारै हराउँदै मादलले बजार नपाउँला भन्नेमा । मादलको माग घट्दो रहेको बताउने उनी भन्छन्, अहिलेसम्म त ठिकै छ, तर भोलिका दिनमा यो हामीले बनाउने मादल कसले बजाइदेला ? आफ्नो पेसा चलिरहला भन्ने चिन्ता छ । 

मादलबाटै गुजारा नचाउँदै आएका उनले मादल बाहेकका यससँग सम्बन्धित बाजाहरू पनि बनाइरहेका छन् । मादल बाहेक उनको परिवारले नौ बाजा अन्तर्गतका विभिन्न बाजाहरू पनि बनाउने काम गर्दछन् । अहिलेसम्म त चाहिनेहरू घरमै आएर मादल किन्न आउँछन्, हरिशंकर भन्छन्, भोलि के हुन्छ कसलाई पो थाहा हुन्छ र ? 

उनका अनुसार भक्तपुरभरिका साथै काठमाडौँ उपत्यका र उपत्यका बाहिरबाट पनि उनीकहाँ मादल किन्न आउने गर्दछन् । अहिलेसम्म मादल बेच्न उनलाई बजार खोज्दै हिँड्नुपरेको छैन । उनकै घरमा  मादलप्रेमीहरु मादल किन्न आउँछन् । 

मादल बनाउन चाहिने सबै सामाग्री अन्यत्रबाट ल्याउने गरेका छन् । ।‘मादलको गम किन्नु पर्छ । बाख्राको छाला महँगोमा किन्नु पर्छ। खरी ल्याउन हापुर जानुपर्छ’ उनले भने–‘मादलको मूल्य हेरि हेरि पर्छ । सानो मादलको थोरै मूल्य, ठुलो मादलको ठुलै मूल्य पर्छ।’ हरिशंकरको घर भक्तपुरको सल्लाघारीबाट नगरकोट जाने बाटो कमल विनायक नपुग्दैको महाकालीमा छ । 

छतिउन, दार तथा खमारीको काठबाट मादल बनाइन्छ । काठमा ढुङ्ग्रो पारेर दुवै पट्टी छालाले मोरेर खरी (मसला) लगाइएको हुन्छ । खरी बनाउँदा काँस र किटको धूलो मिसाइन्छ । यसको एका पट्टी केही सानो, अर्का पट्टी अलिक ठुलो पारेर बनाइएको हुन्छ। ठुलो भागलाई भाले र सानो भागलाई पोथी भनिन्छ । पूर्वेली मादल र पश्चिमेली मादल गरी दुई खाले हुन्छन् । पूर्वेली मादल आकारमा अलिक ठुलो र पश्चिमेली मादल अलिक सानो हुन्छ ।

हरिशंकरका अनुसार एउटा मादलको मूल्य घटीमा एक हजारदेखि बढीमा पाँच हजार सम्मका हुन्छन् । कम मूल्यको मादल सानो हुन्छन् भने बढी मूल्यका ठुला । मानिसको चाहना अनुसार हामी सानो ठुलो दुवै प्रकारका मादलहरू बनाउँंछौं, उनले भने, काम धेरै भएको बेला कलेज पढ्ने छोराछोरीहरूले पनि उनलाइ सघाउँछन् अनि परिवारका अन्य सदस्यहरूले पनि । एउटा मादल बनाउन एक जनालाई एक दिनदेखि तीन चार दिन पनि लाग्ने उनी सुनाउँछन् ।

मादल नेपालको एक प्रसिद्ध ताल बाजा हो । यो नेपाली समाजको मुख्य बाजा हो । नेपाली समाजको सबै सांस्कृतिक कार्यहरूमा यसको प्रयोग हुन्छ । यसलाई दुई हातले हिर्काएर बजाउनुपर्छ । मादल कम्मरमा भिरेर बजाइन्छ ।

प्रकाशित: ९ श्रावण २०८१ १८:५१ बुधबार

#Madal #Hari Shakar Kulaju #Bhaktapur Municipality #krishana k c