जुम्लाको चन्दननाथ नगरपालिका-४ मालाभिड गाउँका नारायण चौलागाईंको आँगनमा ५/६ वर्षअघि २५ घार मौरीका थिए। हरेक घारबाट वर्षमा कम्तीमा ५ केजी मह निकाल्दा उनलाई राम्रै आम्दानी हुन्थ्यो। अहिले उनले ११ घार मौरी पालेर एक वर्षमा डेढदेखि २ लाख रुपैयाँसम्म कमाइ गरिरहेका छन्। पाँच वर्षयता रोगका कारण ७ घारका मौरी मरे।
धमाधम घार रित्ता हुन थालेपछि उनले ७ घार मौरी २० हजार रुपैयाँका दरले बेचे। यस्तै चन्दननाथ नगरपालिका-२ खोलिकोट गाउँका रामकृष्ण बुढाथापाले मह बेचेरै वार्षिक पाँच लाख रुपैयाँ भित्र्याउँथे। १ सय ५० घारसम्म पालेका उनको घरमा अहिले ५ घार मात्रै मौरी छन्। रोगले गर्दा झन्डै आधा जति घारको मौरी नष्ट भएको सुनाउँछन्। धमाधम मर्न थालेपछि रित्तो हुने डरले एक सय घारको मौरी बेचेको उनको भनाई छ। मौरीपालनमा आकर्षण छ। तर किसानको मनोबल बढाउने काम कसैबाट हुन नसकेको उनको गुनासो छ।
उत्पादन गरेको मह हेर्दा मौरीपालन व्यावसाय हौसिए पनि मौरी मरेको देख्दा जागर मर्ने गरेको उनी बताउँछन्। यस्तै,उनको जस्तो पिडा सुनाउँछन् जुम्लाको पातारासी–२ का कैलो ऐडी उनका ८/९ वर्ष पहिले एक सय बढी मौरीघारका मालिक थिए। रोगले झन्डै आधा जति घारका मौरी मरिसके। मह बेचेर वार्षिक चारदेखि पाँचलाख कमाइ गर्ने ऐडीले मौरी बचाउन माग गरिरहेका छन्।
मौरीमा लागेको रोगको उपचारका लागि घरेलु औषधिदेखि विज्ञहरूको परामर्शसमेत लिए। तर रोग निको हुन सकेको छैन। उनीहरूजस्तै जिल्लाका सयौं किसान मौरी मर्ने रोगले चिन्तामा छन्। मौरी घारदेखि बाहिर निस्कने, उड्न नसक्ने र मर्ने गरेका छन्। तर लामो समय बित्दासमेत यो रोगको पहिचान हुन नसक्दा घाटा बेहोर्नुपरेको उनीहरू बताउँछन्।
जुम्लामा ‘सेराना’ जातको मौरीपालन हुने गरेको छ। यो जातको मौरीले चिसो सहन सक्ने, कम रिसाहा र रोग प्रतिरोधात्मक गुण हुने गरे पनि पछिल्ला वर्ष रोगले सखाप भइरहेको स्थानीय किसान नारायण चौलागाईंले बताए। जुम्लाको एक नगरपालिका,सात वटै गाउँपालिकाका र ६० वटै वडामा मौरीपालन हुने गरेको छ। जुम्लाको मह काठमाडौं, नेपालगन्ज, सुर्खेत, बुटवल, चितवन र पोखरालगायत सहरमा लैजाने गरिएको छ। जिल्लाभित्रका कोसेली पसलदेखि आन्तरिक तथा बाह्य पर्यटकले समेत मह किनेर लैजाने गरेका छन्।
जंगलमा अर्गानिक फूल फुल्ने भएकाले यहाँ उत्पादित महमा औषधीय गुण हुने किसानहरु बताउँछन्। मौरीमा देखिएको रोगबारे राष्ट्रिय मौरी विकास केन्द्रमा जानकारी गराएपछि चार वर्षअघि प्राविधिक टोली आएको थियो। ‘मौरी विकास केन्द्रको विज्ञ टोलीले अहिलेसम्म न रिपोर्ट दियो न त कुनै सुझाव नै । उनीहरूको प्रतिवेदन देख्न, सुन्न पाइएको छैन,’ चौलागाईंले भने ।
मौरीपालनबारे जिल्लामा सरकारी तथ्यांक छैन । तर कर्णाली मौरीपालन सहकारी संस्था लिमिटेड जुम्लाले भने पटक–पटक किसानलाई तालिम, उपकरण उपलब्ध गराएर मौरी पाल्न उत्साहित बनाइरहेको छ।
जिल्लामा अहिले ८ हजार ४ सय मौरी घार छन्। एक घारमा कम्तीमा ६ केजी मह उत्पादन भइरहेको छ। ‘जिल्लाभर वर्षमा ५० हजार केजी हाराहारी मह उत्पादन भइरहेको छ,’ सहकारीका सचिवसमेत रहेका चौलागाईंले भने, ‘प्रतिकिलो २ हजार ५ सय रुपैयाँले बेच्दा बार्षिक १२ करोड रुपैयाँ जिल्ला भित्रिने गरेको छ।’ सबैभन्दा बढी पातारासी गाउँपालिका र सबैभन्दा कम तातोपानी र सिँजा गाउँपालिकामा मौरीपालन हुने गरेको छ।
सहकारीको तथ्यांकअनुसार पातारासी गाउँपालिकामा सबैभन्दा बढी १ हजार ६ सय घार, तिलामा १ हजार ५ सय, गुठीचौरमा १ हजार ४ सय, कनकासुन्दरीमा १ हजार २ सय, हिमामा ७ सय, चन्दननाथमा १ हजार र तातोपानी र सिँजामा ५ र५ सय घार मौरी पालेका छन्। जिल्ला कृषि विकास कार्यालय, स्याउ सुपरजोन, कर्णाली मौरीपालन सहकारी र किसान बसेर मौरीपालनको भविष्यबारे चिन्तन गर्नुपर्ने किसानले बताएका छन्। मौरीपालनका क्षेत्रमा कुनै पनि कार्यक्रम नहुनु दुःखद् भएको समेत उनीहरूको गुनासो छ।
चरन क्षेत्रको अभाव, जलवायु परिवर्तनको असर र खेतीपातीमा विषादी प्रयोगले गर्दा मौरीपालनमा समस्या आएको जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताए। ‘मौरीमा देखिएको रोग पत्ता लाग्न सकेको त छैन। तर मौरी विकास केन्द्रको टोलीले मानवीय त्रुटिका कारण समस्या आएको बताएको छ,’ उनले भने, ‘प्रतिकूल वर्षा र खडेरीले मौरीपालन घट्दो क्रममा समस्या आइरहेको छ।’
प्रकाशित: ९ श्रावण २०८१ ११:२८ बुधबार