समाज

पूर्वराज्यमन्त्री रामचन्द्र रायको अन्त्येष्टि

पूर्व राज्यमन्त्री रामचन्द्र रायको मंगलबार सर्लाही सदरमुकाम मलंगवा-४ स्थित साकेत विहार राममन्दिर परिसरमा धार्मिक अन्त्येष्टि गरिएकाे छ।

उनको अन्त्येष्टिमा सशस्त्र प्रहरी नम्बर १० को टुकडीले सोक सलामी अर्पण गरेको थियो। रायको पार्थिव शरीरमा जेठा छोरा शैलेन्द्र रायले दागबत्ती दिएका थिए।

रायको सोमबार बिहान अज्ञात समूहद्वारा धारिलो हतियार प्रयोग गरी निर्मम हत्या भएकाे थियो।

रायको हत्या भएपछि सर्लाहीमा सुरक्षा सतर्कता बढाइएको छ। सीमानाकामा चेकजाँच कडा पारिएको छ भने प्रहरीले निगरानीमा वृद्धि गरेको छ।

नेपाल प्रहरीका सर्लाही प्रमुख एसपी रविन्द्र बहादुर सिंहले घटनाको गहन अनुसन्धान भइरहेको जानकारी दिए।

रायको अन्त्येष्टिमा हजारौँले सहभागिता जनाइ श्रद्धाञ्जली व्यक्त गरे। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देलसहित विभिन्न दलका नेता कार्यकर्ताहरु पनि उपस्थित थिए।

मृतक राय लोकप्रिय नेता र सक्रिय समाजसेवीको रूपमा परिचित थिए। घटनाको बारेमा प्रहरीले विभिन्न कोणबाट गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको बताएकाे छ।

यसैबीच पूर्वराज्यमन्त्री रायको असामयिक निधनको शोकमा मलङ्गवा नगरपालिकाले आज शोक बिदासमेत दिएको थियो। 

प्रकाशित: ८ श्रावण २०८१ २२:४३ मंगलबार