समाज

गाईघाट बाढीको जोखिममा, स्थायी बाँध निर्माण गर्न माग

यो वर्षको झरीले सदरमुकाम गाईघाट बजार बाढीको उच्च जोखिममा परेको छ। असार लाग्दैदेखि भईरहेको निरन्तर वर्षाले बजार जोखिममा परेको हो। निरन्तर ३/४ घण्टा मात्र वर्षा भयो कि सदरमुकामको उत्तरपूर्व रहेको बरुवा खोलामा उर्लेर आउने बाढी सँधै बजारबासीका लागि जोखिमयुक्त हुने गरेको छ।

साविक उदयपुरगढीबाट ०२९ सालमा गाईघाटमा सदरमुकाम सारिएसँगै बजार सुरक्षित गर्न झण्डै ५ दशकअघि बरुवामा जाली र ढुंगा भरेर बाँध लगाइएको थियो। त्यतिबेलाको उन्नत प्रविधि अनुसार १० नं. वडा बोक्से सिमलटारदेखि ढिम्की साकेलाथानसम्म झण्डै २ सय मिटर दूरीमा जाली र ढुंगा भरेको जैविक प्रविधिको बाँध लगाइएको थियो। सोही बाँध पछिल्लो ५ वर्षयता वर्षेनी बाढीले भत्काउदै आएको छ। लगातार २४ घण्टा मात्र वर्षा भयो भने त बरुवाको बाढीले बाँधमा केही न केही क्षति गर्ने गरेको छ।

यसवर्ष पनि २ साताअघि झण्डै १८ घण्टा भएको वर्षाले ५० मिटर हाराहारी बाँध भत्काई दियो। बाँध भत्काउन थालेलगत्तै बजार जोखिममा परेपछि सुरक्षाकर्मी र नगरपालिका मिलेर भत्केको बाँध तत्काल मर्मत गरी रोकथाम भएको छ।

बाँध भत्काउन थालेपछि बाढी बजारक्षेत्र प्रवेश गर्ने खतरा बढेसँगै नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी परिचालन गरी बाँध मर्मत गरेकाले तत्काललाई जोखिम टरेको हो।

बाँध कटान हुन थालेको खवर पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको संयुक्त टोली परिचालन गरेर बाँध मर्मत गरेर जोखिम टारिएको हो।

सशस्त्र प्रहरी गण हेडक्वाटर त्रियुगाका गणपति एसपी सञ्जय बस्नेतका अनुसार विपत आईपर्दा भएभरको सशस्त्र जनशक्ति परिचालन गरेर जोखिम टार्ने गरिएको छ। सोही अनुसार बरुवा बाँध भत्कन थालेको खवर पाएलगत्तै टोली पठाएर बाँध मर्मत गर्न सघाएको एसपी बस्नेतले बताए।

सेना, सशस्त्र र प्रहरी गरी ३ वटै अङ्गका डेढसय हाराहारी सुरक्षाकर्मी परिचालन गरेर भत्काउँदै गरेको बाँध पुनःनिर्माण गरी जोखिम टारिएको हो। बाँध मर्मत गर्नुका साथै वर्षा पनि तत्काललाई रोकिएकाले हाललाई सदरमुकामको जोखिम अस्थायी रुपमा भए पनि टरेको छ। तर, वर्षा सिजन अझै टरिनसकेकाले कुनै पनि बेला बाँध भत्काउने जोखिम उत्तिकै रहेको स्थानीय बताउँछन्। स्थानीयहरुका अनुसार ४० वर्ष पहिला निर्मित बाँध बाढीले भत्काउने संभावना उत्तिकै छ। जैविक प्रविधिको बाँधमाथि रोपिएका विरुवा रुखमा परिणत भईसकेको र बाँधलाई सडकको रुप पनि दिइएको भए पनि बाढीको तेजिलो धारले भत्काउदै रुख ढाल्ने गरेको छ। पछिल्लो बाढीले बाँध भत्काउँदा दर्जन बढी रुख ढलेका छन्।

बाँध भत्काउने, रुख ढाल्दै यसवर्ष वनभोजस्थलको सिशौघारी जंगल फुट्यो भने बाढी सोझै गाईघाट बजार पस्ने खतरा छ। अहिलेका लागि भत्केको ठाउँमा तत्काल बाँध मर्मत गरी बजार सुरक्षित गरिए पनि बर्खा मौसम टरिनसकेकाले अझै गाईघाट बजार उच्च जोखिममै रहेको साकेलाथानका केशरसिंह खड्काले बताए। उनका अनुसार गतवर्ष पनि सोही ठाउँमा बाँध भत्काएको थियो र सशस्त्र र नेपाल प्रहरीकै पहलमा बाँध मर्मत गरेर सुरक्षित गरिएको थियो। यो वर्ष पनि सोही ठाउँ केही तल बाँध भत्काएको उनले बताए।

बाढीले वर्सैनि यसरी दुःख दिने गरेपछि यसको दीर्घकालीन समाधान गर्नुपर्ने खड्काको सुझाव छ। हरेक वर्ष बाढीले दुःख दिदै आए पनि दीर्घकालीन र स्थायी समाधानतर्फ कसैको ध्यान नजानु अर्को दुःखद कुरा भएकोमा खड्काको जस्तै बजारबासीको पनि चिन्ता छ। जव वर्षा सुरु हुन्छ बाढीले बाँध फुटाउने चिन्ताले सताउने गर्छ, तव मात्र नगरपालिका तातिने गरेर दीघृकालनि समाधान ननिसकने उनी बताउँछन्।

यसको स्थायी समाधान गर्न तत्काल पहल थालिहाल्नुपर्ने अर्का स्थानीय लिलाकुमारी राई बताउँछिन्। हरेक वर्ष दोहोरिइरहने यस्तो समस्याको पूर्ण समाधानका लागि गुरुयोजना बनाएर अघि बढ्न उनको सुझाव छ। ‘परार बाँध भत्क्यो, पोहोर पनि भत्कायो, यसपालि पनि’ राईले भनिन् ‘अव आघाँै पनि भत्काउला, यसरी हरेक वर्ष बाढी आउँछ भन्ने थाहा पाउँदा पाउँदै स्थायी समााधानको खोजी किन गरिन्न?’

वर्षायाममा कुनै पनि बेला बाढी बजार पस्ने खतरा देख्दादेख्दै दीर्घकालीन समाधानको उपाय नखोज्ने स्थानीय सरकार, राजनीतिक दल, नागरिक अगुवा र बजारबासी उपभोक्ता सबैको कमजोरी रहेको सर्वसाधारणको बुझाई छ। दीर्घकालीन उपायको खोजी नगर्ने, वर्षेनी बाँध मर्मत गर्ने अस्थायी उपाय मात्र अपनाउने तरिका ‘बील मिलाएर खाने काम’ मात्र भएको आरोपसमेत सर्वसाधारणले लगाउन थालेका छन्। बजारलाई सुरक्षित गर्नका लागि बलियो र स्थायी बाँध निर्माण गर्नुपर्ने सबैको साझा राय छ।

प्रकाशित: ८ श्रावण २०८१ ११:३८ मंगलबार