समाज

सेनाबाट निष्काशित कोइरालाद्वारा नक्कली डाक्टर बनेर बलात्कार

काठमाडौं– आमाको उपचारका लागि गंगालाल अस्पतालमा आएकी एक महिलालाई नक्कली डाक्टर बनेर बलात्कार गर्ने सेनाका भूपु जवानलाई प्रहरीले पक्राउ गरेको छ। सन्तोष घले भनिने पाल्पा तानसेनका अर्जुन कोइरालालाई प्रहरीले मंगलबार काठमाडौबाट पक्राउ गरेको हो। नेपाली सेनामा कार्यरत हुँदा बलात्कारकै घटनामा मुछिएपछि सेनाले कोइरालालाई कारबाही गरेको थियो।

कोइरालाले आमाको उपचारका लागि अस्पतालमा आएकी महिलासँग सामान्य चिनजानका क्रममा आफू पनि डाक्टर भएको बताएका थिए।  गंगालालका डाक्टरसँग राम्रो चिनजान रहेको र आमाको उपचारमा सघाउने भन्दै उनले महिलालाई प्रलोभनमा पारेका थिए। उनले पीडित महिलालाई चैत ६ गते सामाखुशीस्थित आफ्नो सानी आमासँग भेटघाट गर्न लैजाने भन्दै मोटरसाइकलमा राखेर मित्रनगरस्थित होटल गोरखा फूलबारी गेष्ट हाउसमा लगेका थिए।

होटलको दोस्रो तल्लाको कोठामा लगि उनले महिलालाई डरत्रास देखाउँदै धम्की दिएर पटक पटक जबरजस्ती बलात्कार गरेको प्रहरीले जनाएको छ। बलात्कार गरेपछि कोइराला फरार भएका थिए। पीडित महिलाले कोइरालाविरुद्ध महानगरीय प्रहरी वृत्त महाराजगंजमा उजुरी दिएपछि प्रहरीले महाराजगंज वृत्तबाट प्रहरी परिचालन गरी  कोइरालाको हुलिया तथा सिसिटिभी फुटेज समेत अनुसन्धान गरेको थियो। अनुसन्धानबाट आरोपी कोइरालाको पहिचान गरी प्रहरीले उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका कोइरालालाई प्रहरीले जिल्ला अदालत काठमाडौबाट पाँच दिन म्याद थप गरी प्रहरी वृत्त महाराजगंजबाट आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। प्रहरीले पक्राउ परेका कोइराला बलात्कारकै घटनाका कारण सेनाबाट कारबाहीमा परेकाले उनले यस्ता अन्य घटना पनि घटाएको हुनसक्ने आशंका गरेको छ।

प्रकाशित: १५ चैत्र २०७४ ०९:२५ बिहीबार

सेनाबाट निष्काशित कोइरालाद्वारा नक्कली डाक्टर बनेर बलात्कार