समाज

गलेश्वर मन्दिरमा धार्मिक पुस्तकालय

म्याग्दीको बेनी नगरपालिका–९ स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम मन्दिरभित्र सनातन वैदिक धर्म–संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले धार्मिक पुस्तकालय स्थापना गरिएको छ । गलेश्वरधामको दर्शन गर्न आउने आन्तरिक तथा बाह्य धार्मिक पर्यटकलाई लक्षित गरी पुस्तकालय स्थापना गरिएको हो ।

नेपालका विभिन्न स्थान, भारतको बनारस र अमेरिकानिवासी रघु सुवेदीबाट म्याग्दी जिल्लाको पहिलो धार्मिक पुस्तकालय स्थापनाका लागि ६ लाख ४५ हजार सहयोग जम्मा भएको थियो।

पुस्तकालयको संरचना बनाउन ३ लाख ४५ हजार र २ लाख रूपैयाँको भारतबाट पुस्तक खरिद गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ। बाँकी रहेको रकमबाट समेत पुस्तक खरिद गरिने कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए।

‘पाँच हजार पुस्तक पुर्‍याउने लक्ष्य छ, पुस्तकालयले वैदिक धर्म, संस्कृति र पूर्वीय दर्शन तथा सभ्याताको उत्थान एवं प्रसारमा सघाउँछ,’ उनले भने । उनले पुस्तकालयमा स्वदेश तथा विदेशबाट आउने धार्मिक भक्तजनलाई अध्ययन केन्द्र बनाउने गरी थप संरचना विस्तार गरिने बताए।

पुस्तकालयमा हिन्दु धर्मको संविधान मानिने निर्णयसिन्धु, धार्मिक सन्तुष्टि प्राप्त हुने सुखसागरलगायत हिन्दु धर्मावलम्बीसम्बन्धी धार्मिक ग्रन्थ गरी पाँच सय बढी पठन सामग्री रहेको छ।

हिन्दु धर्मसँग सम्बन्धी अध्ययन अनुसन्धान गर्न, धार्मिक पुस्तकको खोजीका लागि गलेश्वरधामसम्म आउने गरी धार्मिक क्षेत्रका ज्ञातालाई पुस्तक उपलब्ध गराएर सहयोग गर्नसमेत अनुरोध गरिएको छ।

पुस्तकालय सञ्चालन तथा प्रभावकारी बनाउन कोषसमेत राखिनेछ । पुस्तकालयमा हिन्दु धर्म, परम्परा र संस्कृतिसँग सम्बन्धित पुस्तकहरू झन्डै पाँच हजार संग्रह गर्ने गरी कोषसमेत बनाइनेछ।

पवित्र कालीगण्डकी नदीबाट उठेर ९ रोपनी क्षेत्रफलको एउटै चक्रशिलामा अवस्थित मन्दिर सत्ययुगमा सतीदेवीको गलापतन भएर गलेश्वर नाम रहन गएको विभिन्न धार्मिक ग्रन्थ तथा पुराणहरूमा उल्लेख गरिएको पाइन्छ।

प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारका रूपमा रहेको गलेश्वर मन्दिर पछिल्लो समय धार्मिक पर्यटनको केन्द्रबिन्दु बन्दै जान थालेको छ।

गलेश्वरमा नेपालको विभिन्न जिल्लाका साथै भारतसहित तेस्रो मुलुकबाट पनि भक्तजन मन्दिर दर्शन गर्न आउने गरेका छन्। मन्दिरभित्र शिवलगायत भगवान्हरूका मूर्ति राखिएको छ।

प्रकाशित: ६ श्रावण २०८१ ०७:४५ आइतबार

#tourist #Galeswaradham-Temple #Religious Library