समाज

कोशी,बागमती,गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाकाे अनुरोध

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ भने अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको जनाएको छ।

शनिबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने र कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिन जारी गरी जानकारी दिएको छ। महाशाखाले दिउँसो भारी वर्षाको सम्भावना नरहेको जानकारी दिएको छ।

राति भने कोशी,बागमती, गण्डकी  र सुदूरपश्चिम प्रदेशका एक/दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम तथा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।

प्रकाशित: ५ श्रावण २०८१ ०६:३९ शनिबार

#koshi #gandaki #sudurpaschim #bagamati #Water and weather forecasting #Monsoon wind