समाज

हिलो र धूलोमुक्त बन्दै बालकोट

विकास निर्माणका प्रगतिबारे जानकारी दिंदै भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ३ बालकोटका वडा अध्यक्ष केसी।

देशैभरिका सडकहरु वर्षायाममा हिलाम्य र हिउँंदमा धूलो उडेर हैरानी हुने गरेको समस्याबीच भक्तपुरको एउटा वडा भने यसबाट मुक्त हुने क्रममा पुगेको छ।

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ३ बालकोट वर्षामा हिलाम्य र हिउँंदमा धूलाम्ये हुने समस्याबाट मुक्ति पाउने अवस्थामा पुगेको छ।

सूर्यविनायक नगरपालिका वडा नं. ३ बालकोटका वडा अध्यक्ष दीपेन्द्र केसीले अर्काे वर्षदेखि वडालाई हिलो र धूलोमुक्त वडा घोषणा गर्ने तयारीमा रहेको बताए। यसका लागि वडाका सबै सडकहरुलाई कालोपत्रे सकाउने योजना रहेको उनले सुनाए।

‘यो वर्षभित्रै यो वडाका सडकमा माटे सडकहरु रहने छैनन्’, बुधवार पत्रकारहरुसँंग वडामा भइरहेका विकास निर्माणहरुको प्रगतिहरुबारे जानकारी दिंदै उनले भने, ‘सबै सडकलाई यो वर्षभित्र कालोपत्रे गरिसक्ने योजना छ। त्यसपछि वडालाई हिलो र धूलोमुक्त वडा घोषणा गर्नेछौँ।’ सबै सडक कालोपत्रे भइसकेपछि वडा वर्षामा हिलो र हिउँंदमा धुला मुक्त वडा हुने जानकारी उनले गराए।

वडा कार्यालयले जनाए अनुसार वडाभित्र कुल १० देखि १२ किलोमिटर सडक रहेको छ। तीमध्ये सबैभन्दा ठूलो फराकिलो सडक १० मिटर चौडाइको छ। तथापि वडामा ८ मिटर र ६ मिटर चौडाईका सडकहरु धेरै छन्। ती सडकहरु सबै कालोपत्रे भइसकेका छन्।

सूर्यविनायक नगरपालिका वडा नं. ३ का वडा सदस्य घनश्याम भटराईले वडालाई जिल्लाकै पहिलो सवै सडक कालोपत्रेयुक्त वडा बनाई धूलोहिलो मुक्त वडाको रुपमा विकास गर्ने योजनाका साथ अगाडि वढिरहेको जानकारी गराए। काठमाडौंसँंगै जोडिएको यो वडा विकासका दृष्टिले अगाडि रहेको भनाइ उनको छ।

पछिल्लो राष्टिय जनगणणा अनुसार यस वडामा १३ हजार १० जनाको जनसंख्या रहेको छ। राष्ट्रिय सञ्चार केन्द्र नेपाल गट्ठाघर भक्तपुरको आयोजनामा सूर्यविनायक नगरपालिकाको सहकार्यमा जिल्लाका पत्रकारहरुलाई नगरपालिकाका वडावडाहरुमा भइरहेका विकास निर्माणबारे जानकारी गराउन एकदिने भ्रमण गराएको आयोजक राष्टिय सञ्चार केन्द्र नेपाल गठाघर भक्तपुरका सचिव हेमराज ढकाल सुमनले बताए।

प्रकाशित: ४ श्रावण २०८१ १२:४३ शुक्रबार