समाज

काठमाडौं उपत्यकामा गत आर्थिक वर्ष सवारी दुर्घटनामा परी १७६ जनाको मृत्यु, १० लाखबढी कारबाहीमा

काठमाडौं उपत्यकामा गत आर्थिक वर्ष सानाठुला गरी विभिन्न सवारी दुर्घटनामा परी १७६ जनाको मृत्यु भएको छ। ती दुर्घटनामा ८ हजार ३०५ जना घाइते भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क छ।

उपत्यकामा हुने गरेका सवारी दुर्घटना न्यूनिकरणका लागि भएका प्रयासहरुबाट अघिल्लो आर्थिक वर्षको तुलनामा सवारी दुर्घटना, मृत्यु र घाइतेहरुको संख्यामा कमी आएको ट्राफिक प्रहरीको भनाइ छ। गत आर्थिक वर्ष ८ हजार ८८१ वटा सवारी दुर्घटना भएको र यो अघिल्लो आर्थिक वर्षको तुलनामा १६.८ प्रतिशतले कम रहेको प्रहरी उपरीक्षक विश्वराज खड्काद्वारा जारी समाचार बुलेटिनमा उल्लेख छ। अघिल्लो आर्थिक वर्ष १० हजार ६७५ सवारी दुर्घटनामा परेका थिए । अघिल्लो आर्थिक वर्ष दुर्घटनामा परेर १८७ जनाको मृत्यु भएको थियो।  

यस आर्थिक बर्ष काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १० लाखबढीलाई ट्राफिक प्रहरीले कारवाही गरी ७२ करोड ६० लाख रुपैयाँ गरिवाना संकलन गरेको छ।  

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक खड्काले जनचेतनामुलक कार्यक्रमहरुले आम सडक प्रयोगकर्ताहरुलाई ट्राफिक नियमहरुको पालना गर्न र सडक सुरक्षालाई आत्मसाथ गर्न प्रेरित गरेको दाबी गर्दै सडक सुरक्षा र ट्राफिक नियमहरुका बारेमा जनचेतना अभिवृद्धि गर्न  निरन्तर रुपमा कार्यक्रमहरु सञ्चालन गरिरहेका बताए।  

स्कूल कलेज केन्द्रित ट्राफिक नियम सम्बन्धी प्रशिक्षण, चालक सह–चालक केन्द्रित ट्राफिक सचेतना कार्यक्रम र सडक प्रयोगकर्ताहरुलाई सडक सुरक्षा कार्यक्रम, ट्राफिक सप्ताह कार्यक्रम, यात्रुमैत्री बिशेष अभियान, ट्राफिक सचेतना बिशेष अभियान जस्ता कार्यक्रमहरू प्रभावकारी देखिएको उनको भनाइ छ।  

प्रकाशित: ३ श्रावण २०८१ १६:१० बिहीबार

#Traffic Police #Vehicle accident