समाज

एक किलो कोकिनसहित दुई विदेशी नागरिक काठमाडौंबाट पक्राउ

अवैध लागुऔषध कोकिनसहित प्रहरीले दुई विदेशी नागरिकलाई काठमाडौंबाट नियन्त्रणमा लिएको छ।  

एक किलो एक सय ग्राम कोकिनसहित प्रहरीले भारतका २३ वर्षीय फहिमुद्दिन नासिमुद्दिन अन्सारी र नाइजेरियाका ४४ वर्षीय इकेचुकवा सिरिल ओबोडोइफुलालाई पक्राउ गरेको हो। लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले अन्सारीलाई ठमेलको एक होटलबाट कोकिनसहित पक्राउ गरेको थियो। उनी इन्डिगो एअरलाइन्ससबाट मुम्बई हुँदै काठमाडौं आएर ठमेल पुगेका थिए। 

नाइजेरियन नागरिक ओबोडोइफुलाले कतारबाट ल्याएको उक्त कोकिन उनले बुझेको प्रहरीको दाबी छ। उनकै बयानका आधारमा प्रहरीले ओबोडोइफुलालाई पनि पिंगलास्थानबाट नियन्त्रणमा लिएको थियो। उनी भने साउन एक गते नै कतार एयरलाइन्सबाट काठमाडौं ओर्लिएका थिए। 

ज्याकेटमा फल्स बटम बनाएर कतारदेखि ल्याइएको कोकिन काठमाडौं ओर्लिएपछि भने जुसको बट्टामा राखेको अवस्थामा प्रहरीले बरामद गरेको हो।  

गत असार दोस्रो साता पनि प्रहरीले एक किलो २४७ ग्राम कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको थियो। 

प्रकाशित: ३ श्रावण २०८१ १४:५४ बिहीबार

#Illegal Drug Cocaine