समाज

ताप्लेजुङमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

ताप्लेजुङको मैवाखोला गाउँपालिकामा ट्र्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। मृतक ३५ वर्षीय भीमकुमार तामाङ मैवाखोला गाउँपालिका वडा नं २ ढुङगेसाँघु कागतेका निवासी थिए।

भीमकुमारलाई घाइते अवस्थामा उपचारका लागि झापातर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कमलकुमार लुङगेलीले बताए।

प्र१–०२–००३ त ९६० नम्बरको खाली ट्र्याक्टर भुसुने स्वास्थ्य इकाईबाट भुसुनेघर तर्फ जाँदै गर्दा वडा नं-२ कागतेस्थित भित्री सडक खण्डमा दुर्घटनामा परेको हो।

उकालोमा ट्रली फसेपछि चालक सनबहादुर तामाङले ट्रयाक्टरमै चाबी छाडेर ट्रली ओट लाउने क्रममा भीमकुमारले एक्कासि ट्रयाक्टरको इन्जिन चलाउँदा ट्र्याक्टर अन्दाजी १०० मिटर अगाडि गई २० मिटर तल झरेर दुर्घटना भएको थियो।

भीमकुमारको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको थियो। उनलाई उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल ल्याइएकोमा चिकित्सकले थप उपचारका लागि रेफर गरेपछि सुविधा सम्पन्न अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

ट्र्याक्टर चालक सनबहादुर तामाङलाई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले नियन्त्रणमा लिएको छ।

प्रकाशित: २ श्रावण २०८१ २२:५३ बुधबार