समाज

पिण्डेश्वर बाबाधाममा बोलबम मेला सुरु

धरान उपमहानगरपालिका–१४ स्थित पिण्डेश्वर बाबाधाममा मङ्गलबारदेखि बोलबम मेला सुरु भएको छ। बालसन्त मोहनशरण देवाचार्यले मेलाको उद्घाटन गरेका हुन।

एक महिनासम्म सञ्चालन हुने मेलामा करिब तीन लाख भक्तजन सहभागी हुने अनुमान गरी सोहीअनुसार व्यवस्था मिलाइएको बोलबम मेला आयोजक समितिले जनाएको छ।

साउनभरि लाग्ने मेलामा पिण्डेश्वर बाबाधाममा जल चढाउन तथा दर्शन गर्न आउने भक्तजनको सुविधाका लागि मूल आयोजक समितिले सुरक्षाका साथै वर्षाका बेला मन्दिरभित्र एक हजारभन्दा बढी भक्तजनलाई ओतको व्यवस्था गरेको समितिका सल्लाहकार वासुदेव बरालले बताए।

सप्तकोशी नदीको सङ्गमस्थलबाट ल्याएको जल चढाउँदा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहँदै आएकाले तीन लाख भक्तजनको आगमन हुने अपेक्षा गरिएको बरालले बताए। मेलामा विशेषगरी पहेँलो लुगा लगाउने, खाली खुट्टा हिँडेर बराहक्षेत्रको चतरास्थित कोशीबाट जल ल्याएर पिण्डेश्वर मन्दिरमा चढाउने गरिन्छ।

मेलामा देशका पूर्वी क्षेत्रका अधिकांश जिल्लाका भक्तजन, पश्चिमका बैतडी, दाङ, बाजुरा, अछाम, डडेलधुराका साथै छिमेकी मुलुक भारतको सिक्किम, दार्जिलिङलगायत स्थानबाट भक्तजन आउने गरेका छन्।

उद्घाटन कार्यक्रममा विजपुर र पिण्डेश्वरलाई केन्द्र मानी यहाँका धार्मिक क्षेत्र, दन्तकाली, बुढासुब्बा, पिण्डेश्वर, बराहक्षेत्र, प्राचीन हरिद्वार, कुम्भमेला लगायत पुराणमा कथालाई उद्धृत गरेर सल्लाहकार बरालले लेखेको ‘रुद्राक्षारण्य परिचय’ पुस्तकको विमोचन गरिएको थियो।

कार्यक्रममा कोशी प्रदेशका सांसद रमेश बस्नेत, धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघा, स्थानीय जनप्रतिनिधि लगायत उपस्थित थिए। 

प्रकाशित: २ श्रावण २०८१ १३:०८ बुधबार

#Pindeshwar Babadham #Bolbam Fair #Dharan Sub-Metropolitan City