समाज

हिमा गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास

लामो समयदेखि भाडाको घरबाट सेवा दिइरहेको जुम्लाको हिमा गाउँपालिकाले आफ्नै प्रशासकीय भवन निर्माण सुरु गरेको छ। हिमा-५ बाजागाडमा सुविधा सम्पन्न प्रशासकीय भवन बनाउन थालिएको हो। गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाही र नेपाली कांग्रेस जुम्लाका पूर्वसभापति दिपबहादुर शाहीले संयुक्त रूपमा भवन शिलान्यास गरे।

जग्गा समयमै नपाइने र कार्यपालिकाले समेत केन्द्रको टुंगो लगाउन नसक्दा सरकारी काम भाडाको घरमा सञ्चालन भइरहेको थियो। तर अब केही समयपछि आफ्नै प्रशासकीय भवनमा बसेर सेवा प्रदान गर्ने अध्यक्ष शाहीले बताए।

प्रशासकीय भवन निर्माणको लागि स्थानीयले ३ हजार ९ सय वर्गमिटर जग्गा गाउँपालिकालाई निस्शुल्क उपलब्ध गराएका छन्। हिमा ५ का स्थानीय दानबहादुर शाहीले तीन हजार एक सय र दलविर शाहीले आठ सय बर्गमिटर जग्गा गाउँपालिकालाई निस्शुल्क प्रदान गरेको प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले बताए।

उनले भने, ‘हिमा सरकारको आफ्नै भवन नहुँदा सेवाप्रवाहमा समस्या भइरहेको थियो। अब केही समयमा नै सुविधासम्पन्न प्रशासकीय भवनबाटै सेवा शुभारम्भ हुनेछ।’

हिमा गाउँपालिकाको १२ औं गाउँसभाले बाजागाडामा स्थानीय केन्द्र तोकेको थियो। केन्द्र तोक्ने निर्णय भइसक्दा पनि कार्यान्वयनमा चुनौती थियो,’ अध्यक्ष शाहीले भने, ‘जग्गादाताहरुसँगको छलफल र कार्यपालिकाभित्रको औपचारिक निर्णयले प्रशासकीय भवन बनाउन बाटो खुलेको हो।’

अध्यक्ष शाहीले प्रशासनिक भवन निर्माणका लागि बनाएको कार्यविधि हुबहु कार्यान्वयन हुने प्रतिक्रिया दिए। केन्द्र सरकारको ६० प्रतिशत र ४० प्रतिशत हिमा गाउँपालिकाको लागतमा प्रशासनिक भवनको निर्माण कार्य अघि बढेको हो।

गाउँपालिका भवन अपांगतामैत्री, बालमैत्री बनाईने प्रतिबद्धता जनप्रतिनिधिले गरेका छन्। १० करोड बराबरको लगानीमा भवन निर्माणको काम सुरु भएको हो।

कांग्रेस जुम्लाका पूर्वसभापति दिपबहादुर शाहीले गाउँपालिकाको स्थायी संरचना निर्माण गर्नका लागि गाउँपालिकाले गरेको कामको प्रशंसा गरे।

उनले भने, ‘भाडामा सरकारका कामकाज भइरहँदा असहज अनुभूति भइरहेको थियो। अब सहज र प्रभावकारी सेवा प्रदान गर्न प्रशासकीय भवनले सहयोग मिल्ने छ।’

लामो समयदेखि पालिका केन्द्रका विषयमा छलफल भइरहेको भए पनि निष्कर्षमा पुग्न सकिएको थिएन। शिल्यान्यासमा नागरिकहरुको सहभागिता उत्साहजनक थियो। धर्मगुरुहरु पनि प्रशासकीय भवन निर्माणको काम सुरु हुँदा खुसी देखिन्थे।

प्रकाशित: ३१ असार २०८१ ०७:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App