समाज

सिमलताल बस दुर्घटनाः दुई बसमा गरी ६५ यात्रु रहेको पुष्टि

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकखण्डमा शुक्रवार बिहान दुर्घटनामा परेका दुई वटा बसमा ६५ जना यात्रु रहेको पुष्टि भएको छ।

टिकट चलान र सम्पर्कमा आएका आफन्तको भनाइका आधारमा दुबै बसमा गरी ६५ जना यात्रु सवार रहेका जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ।

कार्यालयका अनुसार काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसमा ३८ र वीरगञ्जबाट काठमाडौँ तर्फ गइरहेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसमा २७ जना यात्रु सवार रहेका थिए।

‘गौरको गणपति बसमा २७ जनाले टिकट काटेका थिए। आफन्तले आएर विवरण दिएका ११ जना छन्’, चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने, ‘एन्जल डिलक्समा २३ जनाले टिकट काटेको देखिएको छ। टिकट नलिइ चारजना चढेको आफन्तले बताएका छन्।’

बस त्रिशूलीमा खस्दा बसमा सवारमध्ये नन्दन दास, सुरज प्रसाद गुप्ता र जुगेश्वर यादवले बसबाट हाम फालेर ज्यान जोगाएका थिए। ती तीनैजना गणपति डिलक्स बसमा सवार थिए। यस्तै चार जनाको शव फेला परेको छ। जसमा एकजनाको सनाखत हुन बाँकी छ भने अन्य ३ जनाको सनाखत भइसकेको छ। फेला परेका ३ शवमा एकजना भारतीय र २ जना नेपाली नागरिक रहेका छन्।

घटना लगतै सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीसहितको गोताखोर लगायतका टोलीले बसको खोजीकार्य जारी राखेको छ। तर, बस अहिलेसम्म फेला पर्न सकेको छैन।

प्रकाशित: ३० असार २०८१ १०:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App