समाज

सिमलताल बस दुर्घटना: आजबाट पुनः खोजी कार्य सुरु,५० किलोमिटर तल भेटिन थाले शव

पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पार्न सकिएको छैन। (आइतबार) आज बिहान ७ बजेबाटै पुनः खोजी कार्य सुरु गरेकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ। नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने सिमलतालबाट शुक्रबार बिहान साढे २ बजेतिर पहिरोमा परी त्रिशूली नदीमा दुईवटा बस खसे। लगत्तै सुरक्षा निकायको टोली घटनास्थलमा खटिएको छ। 

सो स्थानमा नेपालकै उच्च प्रविधिसहितको जनशक्ति परिचालन गरिएको छ। शनिबार साँझसम्म बसको अत्तोपत्तो छैन। तर घटनास्थलभन्दा ५० किलोमिटर टाढा शव भेटिन थालेका छन् । शनिबार साँझसम्म तीनजनाको शव नारायणी नदी किनारमा फेला परेका छन्। तीमध्ये दुईजनाको पहिचान खुलेको छ।

अर्का एकजनाको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ। पहिचान भएका शवमध्ये दुईवटा गणपति डिलक्समा सवार यात्रुका हुन्। उनीहरूका शव चितवनको भरतपुर–२८ गोलाघाटस्थित नारायणी नदीकिनार र नवलपरासी (बर्दघाट सुस्तापूर्व) गैंडाकोट नगरपालिका–७ र ९ को थुम्सीस्थित नारायणी किनारमा फेला परेका हुन्। 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालका अनुसार गोलाघाटमा शनिबार बिहान साढे ८ बजे र गैंडाकोटमा साँझ ४ बजेतिर दुई शव फेला परेका हुन्। गैंडाकोटमा फेला परेको एक जनाको शव भने पहिचान हुन बाँकी रहेको उनले बताए। प्राप्त कागजातका आधारमा गोलाघाटमा फेला परेको एउटा शव भारतीय नागरिक ऋषिपल साहको रहेको खुलेको छ । यो दुर्घटनास्थलभन्दा ५० किलोमिटर दुरीमा उक्त शव भेटिएको हो। 

शवको पुष्टि उनका दाइ सत्यपाल साहले गरेको डिएपी रिजालले जानकारी दिए । भारतको मोतिहारी राजमुनुवा घर भएका २८ वर्षीय ऋषिपल काठमाडौंको जोरपाटीबाट गौर जान बस चढेका थिए। ऋषिपलले काठमाडौंमा १० वर्षदेखि किराना पसल गर्दै आएका थिए। दाइ सत्यपालले पनि काठमाडौंमै किराना पसल सञ्चालन गर्दै आएका छन्। ऋषिपल भारतमा रहेका पत्नी र छोराछोरीलाई लिन घरतर्फ जाँदै थिए। उनीसँगै आएका २२ वर्षीय विवेक साह भने बेपत्ता छन्। घटनालगत्तै उनका दाइ हरेप्रसाद भारतबाट चितवन आइपुगेका छन्।

घुम्न नेपाल आएका विवेकसँग ऋषिपल घर जाँदै थिए। आइतबारसम्म विवेकको अवस्था बुझेर ऋषिपलको शव भारत लैजाने सत्यपालले जानकारी दिए। घटनास्थलबाट करिब ३५ किलोमिटर तल भेटिएको अर्कोे शव गणपति डिलक्स बसमै सवार १९ वर्षीय रमितकुशर माझी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। माझीको शव उनका बुवा रवीन्द्रकुशर माझीले पहिचान गरेका हुन्। 

उनको शव नवलपरासी (बर्दघाट सुस्तापूर्व) गैंडाकोट नगरपालिका–७ र ९ थुम्सी स्थित नारायणीकिनारमा फेला परेको थियो। उनीसँगै फेला परेका अर्का एक शव कसको भन्ने पहिचान भएको छैन। शवको प्रकृति हेर्दा दुर्घटनामा परेका व्यक्तिको नै हुन सक्ने इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख प्रहरी निरीक्षक हस्तबहादुर सुनारले बताए। ‘शवको प्रकृति हेर्दा बस दुर्घटनाकै जस्तो छ,’ उनले भने, ‘तर पहिचान नभईकन यतिकै भन्ने अवस्था भएन।’

काठमाडौंबाट रौतहटको गौरतर्फ आउने क्रममा पहिरोमा परेर त्रिशूलीमा डुबेको गणपति डिलक्समा २९ जनाले टिकट लिएका यात्रु सवार थिए। बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको उक्त बस त्रिशूलीमा खस्दा बसमा सवारमध्ये नन्दन दास, सुरज प्रसाद गुप्ता र जगेश्वर यादव बसबाट निस्कन सफल भएका थिए। चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरो खस्दा बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स पनि नदीमा खसेको हो । वीरगन्जबाट काठमाडौं जान एन्जल डिलक्समा २४ जनाले टिकट लिएको साहायक प्रमुख जिल्ला अधिकारी खिमान्द भुसालले जानकारी दिए। टिकट नलिई पनि चढेको यात्रुसमेत त्यसमा हुन सक्ने उनले बताए।

सशस्त्र प्रहरीका तीन र नेपाली सेनाको एक गरी चारवटा बोटमार्फत गोताखोरको टोलीलाई खोजीकार्यमा खटाइएको छ । बसहरू भने शनिबार सा“झसम्म भेटिएका छैनन्। ‘कुरिनटारमा रहेको सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोली र नेपाली सेनाको रसौलीस्थित विपद् व्यवस्थापन गण नेपालको जनशक्ति र उच्च प्रविधि भएको गण हो,’ चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने, ‘यसभन्दा बढी जनशक्ति नेपाल बाहिरबाट ल्याउनुपर्छ।’ सुरक्षाकर्मीको टोलीले शुक्रबारभन्दा फरक तरिकाले बस र यात्रुको खोजी गरिरहेको उनले बताए। ‘हिजो खोजेको ठाउँभन्दा तलतिर हामी खोजिरहेका छौं। हामीले प्रविधिको प्रयोग गर्दै फलामे हुक, पानीमा प्रयोग हुने ड्रोन र आकाशमा उड्ने ड्रोनसमेत परिचालन गरेका छौं,’ यादवले भने, ‘गोलाघाटसम्मको युनिटलाई पनि परिचालन गरिरहेका छौं।’

प्रहरीले १४ वटा टोली बनाएर खोजी गरिरहेको छ । बस र यात्रुको खोजी कार्यका लागि दुई सय ८१ जनाको सुरक्षाकर्मी खटाइएको छ। घटनास्थलमा मात्रै २ सय १६ जना सुरक्षाकर्मी खटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए। ‘घटनास्थलमा ५४ जनाको हाम्रो टोली (नेपाल प्रहरी) खटिएको छ। 

एपिएफको ४१ र नेपाली सेनाको ५६ जना खटिएका छन्,’ उनले भने ‘सिमलतालदेखि गोलाघाटसम्म ६५ जना प्रहरीको टोली नदीकिनारमा खटिएका छन्।’ पानीको चाप अत्यधिक र नदी धमिलो भएकाले गहिराइसम्म गोताखोर पुग्न सक्ने अवस्था छैन। घटनास्थल तल ठुलो भुमरी रहेकाले खोजीमा थप समस्या देखिएको प्रहरीले जानकारी दिएको छ। शव नदीकिनारमा देखिन थालेपछि खोजीकार्यको स्वरूपसमेत परिवर्तन गर्ने तयारीमा प्रशासन छ।

प्रकाशित: ३० असार २०८१ ०७:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App