समाज

जुम्ला इजलासले फछर्यौट गर्‍यो ९० प्रतिशत मुद्दा

उच्च अदालत सुर्खेत, जुम्ला इजलासले ९० प्रतिशत मुद्दा चालु आर्थिक वर्षमा फछर्यौट गरेको छ।  चालु आर्थिक वर्षको असार २७ सम्म ९०.६८ प्रतिशत मुद्दा फछर्यौट भएको उच्च अदालत सुर्खेत, जुम्ला इजलासका मुख्य न्यायाधीश गोकर्ण डाँगीले बताए। चालु आवका २ सय २९ सहित जम्मा २ सय ७९ वटा मुद्दा दर्ता छन्। 

२ सय ७९ वटा मुद्दा मध्ये २ सय ५३ वटा मुद्दा फछर्यौट भएको र २६ वटा मुद्दा फछर्यौट हुन बाँकी रहेको मुख्य न्यायाधीश डाँगी बताउँछन्। अदालतले सार्वजानिक गरेको तथ्याङ्कअनुसार २ सय ७९ मुद्दामध्ये २ सय ५३ मुद्दा फछर्यौट भएको र अझै २६ वटा मुद्दा फछर्यौट हुन बाँकी छन्। ५० वटा मुद्दा गत वर्षको सरी आएको न्यायाधीश डाँगीको भनाइ छ। दुनियाँवादी फौजदारी मुद्दा १ वटा दर्ता भएकोमा उक्त मुद्दा फछर्यौट भइसकेको छ।

त्यस्तै दुनियाँवादी देवानीतर्फ २५ वटा मुद्दा दर्ता भएकोमा २३ वटा फछर्यौट भएको र २ वटा मुद्दा फछर्यौट हुन बाँकी छन्। साथै सरकारवादी फौजदारी मुद्दातर्फ जम्मा २ सय २५ वटा मुद्दा दर्ता भएकोमा हालसम्म २ सय ८ वटा मुद्दा फछर्यौट भएका छन् भने १७ वटा मुद्दा फैसला हुन बाँकी छन्। २८ वटा रिट परेकोमा २१ वटा मात्रै फछर्यौट हुँदा अझै ७ वटा रिट निवेदनको सुनुवाइ हुन बाँकी रहेको रजिष्ट्रार यामप्रसाद बाँस्कोटाले बताए।

उनका अनुसार कर्तव्य ज्यानका २४ मध्य २२ वटा, जबरजस्ती करणीका ७१ का मध्य ६९ वटा, जातीय विभेद तथा छुवाछूतका २ मध्य २ वटा, लागु औषधका २२ मध्य १९ वटा, चोरीका २२ मध्य १५ वटा बहुविवाह र बाल विवाहका १२ मध्ये ११ वटा मुद्दा फछर्यौट भइसकेका छन्। 

यस्तै सम्बन्ध विच्छेदका ६ मध्य ५ वटा, अंश/जग्गाका १० मध्य १० वटा, सवारी ज्यान १३ मध्य १२ वटा, उत्प्रेषण, परमादेश २५ मध्ये १९ वटा, ज्यान मार्ने उद्योगका २५ मुद्दा परेकोका २५ वटै मुद्दा फछर्यौट भएको उनको भनाइ छ।

निषेधाज्ञाका ३ मध्य २ वटा र अन्य ४४ मध्य ४२ मुद्दा गरी जम्मा २ सय ७९ मध्ये २ सय ५३ मुद्दाको फछर्यौट भएको बाँस्कोटाले जनाए। मुख्य न्यायाधीश गोकर्ण डाँगीले सर्वसाधारण नागरिकको पहुँचमा न्याय पुगेको दाबी गरे।न्याय प्रणालीलाई छिटो छरितो बनाउन सर्वोच्च अदालत लागिपरेको छ।  

प्रविधिको उच्चतम प्रयोग गरी प्राथमिकताका आधारमा न्याय सम्पादन गर्दै आएको छ। मुख्य न्यायाधीश डाँगीले न्यायमा आम नागरिकको पहुँच बढाउन सबै निकायबाट सहयोग हुनुपर्ने बताए।

पिडकले भनेका आधारमा न्याय सम्पादन हुने भएकाले करणीका अधिकांश मुद्दामा होस्टाइल गराउने चलन अन्य जिल्लाको तुलनामा जुम्लामा बढी देखिएको उनी बताउँछन्।

यसैबीच चालु आवमा उत्कृष्ट कार्यसम्पादन गरेबापत इजलास शाखामा कार्यरत टंकप्रसाद खत्री र तामेलदार कमल धमलालाई नगद पाँच हजारसहित सम्मान पत्र प्रदान गरिएको छ।

प्रकाशित: २९ असार २०८१ ०७:१३ शनिबार

#Jumla-Ijalas #High-Court-Surkhet #Fachharyot