समाज

देशभर मनसुनी वायु : बागमतीसहित तीन प्रदेशमा ठूलो वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

शनिबार बिहान गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली  रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ। महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार शनिबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा साथै मधेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै कोशी, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाले आज राति पनि देशभर साधारणदेखि पूर्णतया बदली कोशी,  बागमती, गण्डकी र लुम्बिनी प्रदेशका  थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान गरेको छ।

त्यस्तै कोशी, बागमती र  गण्डकी  प्रदेशका  एक-दुई स्थानमा राति पनि भारी  वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसैबिच गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।

प्रकाशित: २९ असार २०८१ ०६:४४ शनिबार

#Water and weather forecasting