समाज

जनसङ्ख्या नीति कार्यान्वयनमा जोड दिन विज्ञहरूको सुझाव

नयाँ बन्ने जनसङ्ख्या नीति कार्यान्वयनमा जोड दिन विज्ञहरूले सरकारलाई सुझाव दिएका छन्।

बिहीवार जनसङ्ख्या दिवसको अवसरमा आयोजित कार्यक्रममा विज्ञहरूले २०७८ सालको जनगणनाअनुसार सरकारले नयाँ जनसङ्ख्या नीति बनाइरहेको भन्दै नीतिको कार्यान्वयमा जोड दिन आग्रह गरेका हुन्।

उनीहरूले विगतमा बनेका जनसङ्ख्या नीतिहरू पनि कार्यान्वयन नहुँदा प्रभावकारी बन्न नसकेको उदाहरण दिँदै सरकारले नीति कार्यान्वयनमा विशेष जोड दिनुपर्ने बताए।

कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उपसचिव ऋतु पन्तले जनसङ्ख्या अहिले लाभांशको रुपमा लिइरहेको उल्लेख गर्दै जनसङ्ख्याको लाभांश लिन नसकेको बताइन्।

उनले जनसङ्ख्याको लाभांश अहिले नै प्रयोग गर्न नसक्ने अवस्थामा रहेको बताइन्।

उनले युवाहरू विदेश पलायन भइरहेको र भएका युवाहरू पनि देशका लागि प्रयोग भइरहेको छ की छैन भन्नेबारेमा अध्ययन हुन आवश्यक रहेको भन्दै युवाहरू विदेशमा गएर योगदान गरिरहेको तर नेपालमा युवाहरुले रेमिट्यान्सको मात्रै योगदान दिइरहेको बताइन्।

उनले तत्कालको फाइदाका लागि रेसमट्यान्सबाट देश चलाउने सोच रहेपनि भविष्यलाई फाइदाजनक नरहेको बताइन्।

उनले वाह्य र आन्तरिक बसाईंसराईको समस्या विकराल बन्दै गएको बताए।

मन्त्रालयले जनसंख्या नीति बनाइरहेको भन्दै जनसङ्ख्या नीति एउटा वर्ग र मन्त्रालयको मात्रै नहुने उनको भनाइ छ। उनले देशको स्रोत नै जनसङ्ख्या भएको उल्लेख गर्दै विकासका काम जनसङ्ख्यामा निर्भर रहेर हुनुपर्ने भन्दै बनाइएका जनसंख्या नीतिहरुको कार्यान्वनयमा जोड दिनुपर्ने बताइन्।

कार्यक्रममा बोल्दै प्रा.डा. योगेन्द्रबहादुर गुरुङले जनसङ्ख्या आफैँ श्रोत, साधन र साध्य भएको बताए।

उनले मानवीय श्रोतको सदुपयोग गरी मानवले मानव हितको लागि विकास गर्न आवश्यक रहेको बताए।

राजनीतिक, सामाजिक नीति तथा योजना बनाउँदा जनसङ्ख्याकै आवश्यक हुने भन्दै उनले  धेरै नीति योजनाहरू भनेजस्तो सफल नहुने कारण जनसङ्ख्याकै सही मूल्याङ्कन नहुनु रहेको बताए।

एजिङ नेपालका निर्देशक प्रकाश गौतमले जनसङ्ख्याका हिसाबमा नेपालले ज्येष्ठ नागरिकका विषयमा चिन्ता गर्नुपर्ने कारण नरहेको बताए।

उनले ज्येष्ठ नागरिकको जनसङ्ख्या नेपालमा १ लाख २५ हजार मात्रै रहेको भन्दै औषत आयु बढ्दै जाँदा रिटायरमेण्ट र औषत आयु हेर्दा २० वर्ष आयु बढाएको र २० वर्ष आयुलाई कसरी इंगेज गर्ने भन्नेकुरा महत्वपूर्ण रहेको बताए।

कार्यक्रममा बोल्दै नेपाल जनसङ्ख्या सङ्घका अध्यक्ष डा.पदमप्रसाद खतिवडाले जनसङ्ख्या व्यवस्थापनको योजना बनाउँदा बनाउँदै आफैँ नियन्त्रण हुँदै गएकोप्रति चिन्ता व्यक्त गरे।

प्रकाशित: २७ असार २०८१ १३:१९ बिहीबार

# जनसङ्ख्या नीति # जनसङ्ख्या दिवस