समाज

बैतडीका पत्रकार विष्ट युवा पत्रकारिता पुरस्कारबाट सम्मानित

बैतडीका क्रियाशिल पत्रकार विनोद सिंह विष्ट युवा पत्रकारिता पुरस्कार–२०८१ बाट सम्मानित भएका छन्। नेपाल सरकार,युवा तथा खेलकुद मन्त्रालयले विष्टलाई नगद ५० हजार पुरस्कारसहित सम्मान गरेको हो।

राष्ट्रिय समाचार समिति (रासस) का बैतडी समाचारदाता विष्टलाई सिंहदरबारमा बुधबार एक कार्यक्रमको आयोजना गरेर मन्त्रालयका सचिव सुमनराज अर्यालले  खादा,प्रमाणपत्र र नगदसहित सम्मान गरे।

युवा सरोकारका विषयमा नेपाली छापा पत्रपत्रिका,रेडियो र अनलाईन समेतबाट समाचार सम्प्रेषण गरी युवा विकासमा पुर्याएको महत्वपूर्ण योगदानको कदर गर्दै पत्रकार विष्टलाई नगद  ५० हजार पुरस्कारसहित सम्मान गरिएको मन्त्रालयले जनाएको छ।  

मन्त्रालयले पुरस्कारका लागि गत माघमा आवश्यक कागजपत्रसहित आवेदन आह्वान गरेकोमा र देशभरबाट आएका आवेदनमध्ये मन्त्रालयले गरेको मूल्यांकनको आधारमा विष्ट पुरस्कारको लागि छनौट भएका थिए।

पत्रकार महासंघ बैतडीका सहसचिव समेत रहेका विष्टले उक्त पुरस्कार पाएपछि  खुसी व्यक्त गर्दै पुरस्कारले पत्रकारिता पेसाप्रति थप जिम्मेवार बनाउनुका साथै  पेसामै रहिरहन उर्जा मिलेको बताए।

बैतडीको दोगडाकेदार गाउँपालिका ३ श्रीकोट घर भएका पत्रकार विष्ट विगत १३ वर्षदेखि पत्रकारिता पेशामा क्रियाशिल रहेका छन्। 

प्रकाशित: २७ असार २०८१ ०६:३९ बिहीबार

#journalist #Binod-bist #Youth Journalism Award-2081