समाज

खेतालालाई खाजा खुवाउने क्रममा घर भत्किँदा ६ जना घाइते, दुईको अवस्था गम्भीर

खेतमा काम गर्न आएका छिमेकीलाई खाजा खुवाउने क्रममा एक्कासी घर भत्किँदा ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं. २ आम्बेगुदिनको हप्पुखोला बस्तिमा ६ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) रवि रावलका अनुसार घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ।

घाइते हुनेमा स्थानीय ४३ वर्षिय खड्गबहादुर बानियाँ, उनकी श्रीमति ३८ वर्षिय जानुका, ३० वर्षिय सुबिना बानियाँ, २८ वर्षिय खेमराज अधिकारी, ५३ वर्षिय तिलमाया बिक र १० वर्षिय रोहित विक रहेका छन्।

डिएसपी रावलका अनुसार खड्गबहादुर र जानुकाको शरीरका बिभिन्न भागमा चोट लागेको छ। घाइतेमध्ये सुबिना र खेमराजको अवस्था गम्भीर रहेको पनि उनले बताए।

प्रहरीका अनुसार खेमराजको दाहिने खुट्टा भाँचिएको छ भने तिलमाया र प्रकाशको हात र खुट्टामा चोट लागेको छ। स्थानीय सुमन लिम्बूले बन्धकीमा लिएको प्रेमबहादुर राई (हाल बेलायतमा बसोबास गर्ने) को ढुङ्गा, माटो, टिन र खरले बनेको दुईतल्ले घर खेतालालाई खाजा खुवाउने क्रममा भत्किएको हो।

घर भत्किए पछि खाजा खान घर भित्र रहेका मानिसहरु घरले थिचिएका थिए। पछि प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा घरभित्र पुरिएका मानिसको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको छ।

घाइते सबैलाई उपचारका लागि पाँचथर सदरमुकामस्थित फिदिम अस्पतालमा भर्ना गरिएको पनि प्रहरीले जनाएको छ।

प्रकाशित: २६ असार २०८१ ०८:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App