समाज

अरनिको राजमार्ग एकतर्फी सञ्चालन

फाइल तस्वीर

पहिरोका कारण १४ घण्टादेखि अवरुद्ध अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको छ। सोमबार राति ९ बजे राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-८ स्थित ५० किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो।

सडक माथिबाट पहिरो खसिरहेकाले रातभर पन्छाउन असहज भएकामा बिहान ७ बजेदेखि दुईवटा मेसिनले आंशिक पहिरो पन्छाइ एकतर्फी यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

राजमार्ग पूर्णरूपमा खुलाउन सुरक्षाकर्मीको निगरानीमा पहिरो पन्छाउने काम भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए।

उनका अनुसार उक्त स्थानमा पहिरोको जोखिम भने कायमै रहेको छ। यहाँ पहिरो खसेर करिब दुई सय मिटर सडक अवरुद्ध भएको थियो। गएरातिदेखि नै सडक अवरुद्ध हुँदा दुवैतर्फ सयौँ सवारी साधन रोकिएका थिए। साना सवारीलाई भने वैकल्पिक बाटोबाट गन्तव्यमा पठाइएको थियो। 

प्रकाशित: २५ असार २०८१ १३:४० मंगलबार

#One way operation #Araniko Highway