समाज

मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते

नेपालमा मनसुन सुरु भएयता सोमबार दिउँसोसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो, डुबान लगायत विपदमा परी ७४ जनाको मृत्यु भएको छभने ८८ जना घाइते भएका छन्।

विपद्जन्य घटनामा परी काठमाडौँ उपत्यकामा एक, कोसी प्रदेशमा १८, मधेस प्रदेशमा तीन, बागमती प्रदेशमा चार, गण्डकी प्रदेशमा २२, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा चार गरी ७४ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार घाइते हुनेमध्ये काठमाडौँ उपत्यकामा तीन, कोसी प्रदेशमा २१, मधेसमा पाँच, बागमतीमा चार, गण्डकीमा २६, लुम्बिनीमा चार, कर्णालीमा १५ र सुदूरपश्चिममा १० जना गरी जम्मा ८८ जना रहेका छन् ।

साथै कोसी प्रदेशमा ४१ र गण्डकीमा १२ गरी ५३ जनाको उद्धार गरिएको छ । बाढी पहिरामा परी कोशी प्रदेशमा दुई, बागमतीमा दुई र सुदूरपश्चिममा एक गरी पाँचजना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । बाढीका कारण एक सय ६१ घर डुबानमा परेका र ९४ घर, ५३ गोठ, ४१ पुल, एक विद्यालय र दुई सरकारी कार्यालयमा क्षति पुगेको छभने तीन सय ३५ पशुचौपाया मरेका प्रवक्ता कार्कीले बताए।

यस अवधिमा विपद्का घटनाबाट दुई हजार दुई सय ९६ परिवार विस्थापित भएका छन् । बाढी पहिराको जोखिममा रहेका विभिन्न जिल्लाका परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कामसमेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय तथा सहयोगमा भइरहेका र सडकको अवरोध हटाउने कार्यसमेत जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  

प्रकाशित: २४ असार २०८१ २०:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App