समाज

‘इट्स माइ सो’ ले हटायो विवादित क्लिप

चर्चित कलाकारको व्यक्तिगत जीवनलाई लिएर बनाइएको विवादित भिडियो क्लिप प्रेस काउन्सिल नेपालको निर्देशनपछि हटाइएको छ।

कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ‘इट्स माइ शो’ मा दुई हप्ता अगाडि प्रसारित सामग्री विवादास्पद बनेपछि काउन्सिलले सोबारे अध्ययन गरेको थियो। ती सामग्रीलाई आपत्तिजनक र तथ्यहीन भन्दै अभिनेत्री जसीता गुरुङ लगायतका व्यक्तिहरूले चर्को विरोध गरेका थिए।

प्रेस काउन्सिल नेपालले उक्त शो सार्वजनिक भए लगत्तै स्वस् अनुगमन गरेर त्यसबारे प्रष्ट पार्न २४ घण्टे पुर्जी काटेको थियो। टिभीले दिएको लिखित जवाफ चित्त नबुझेपछि काउन्सिलले शोका प्रस्तोता ओसिन सिटौलासहितलाई बयानका लागि कार्यालयमा बोलाएको थियो।

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत लगायतको उपस्थितिमा टिभीको टोलीले त्यस्ता प्रसंग प्रसारण भएकोमा माफी मागेको थियो। प्रेस काउन्सिलले विवादास्पद सामग्री तत्काल हटाउन र त्यसको जानकारी युट्युब च्यानलसहित सबै माध्यममा गराउन लिखित निर्देशन दिएको थियो।

त्यसपछि टिभीले विभिन्न कलाकारलाई जोडेर प्रसारित आपत्तिजनक अभिव्यक्ति हटाएको छ। प्रेस काउन्सिल समक्ष प्रस्तोता सिटौलाले व्यक्तिगत लाञ्छना लगाउने, आचारसंहिताविपरीत काम नगर्ने प्रतिवद्धता जनाएकी थिइन्।

यो प्रकरण काउन्सिलमा विचाराधीन रहेकाले थप कारबाहीबारे निर्णय हुन बाँकी रहेको अध्यक्ष बस्नेतले बताएका छन्।

प्रकाशित: २४ असार २०८१ १९:४९ सोमबार