समाज

नक्कली प्रमाणपत्र पेस गरेको आरोपमा आयुर्वेद चिकित्सक साह विरुद्ध मुद्दा दायर

नक्कली प्रमाणपत्र पेस गरी सरकारी सेवामा नियुक्ति लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयकी होमियोपेथिक चिकित्सा आठौँ तहकी कर्मचारी संगिता कुमारी साह विरुद्ध मुद्दा दायर गरेको छ । 

उनले सो चिकित्सालयको हालै अस्थायी पदपूर्ति गरिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा आठौँ तहमा नक्कली प्रमाणपत्र पेस गरेको ठहर गर्दै उनी विरुद्ध बिभिन्न मुद्दा चलाइएको आयोगले जनाएको छ । सोमवार आयोगले उनी विरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम कारबाहीको माग गर्दै मुद्दा चलाइएको हो । 

 पदपूर्ति लगत्तै उनको प्रमाणपत्र नक्कली रहेको बिषयमा उजुरी परेपछि उनी माथि आयोगले छानबिन गरेको थियो ।उनले सेवा नियुक्तिको प्रक्रियाको क्रममा विहार स्थित संस्कृत शिक्षा बोर्डद्धारा सञ्चालित परीक्षामा प्रथम श्रेणीमा  उर्तिण प्रमाणपत्र पेस गरेकी थिइन । 

उनलाई ओहोदा, लाभ र सुविधा प्राप्त गरेको हुँदा  निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय सहितको मागदाबी गर्दै सोमबार विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ । 

प्रकाशित: २४ असार २०८१ १६:५१ सोमबार

#Commission for Investigation of Abuse of Authority #Ayurveda and Alternative Hospitals #Sangita Kumari Sah