समाज

ऐतिहासिक धारा जरुँहिटीकाे उत्खनन

ललितपुर महानगरपालिकाले जावालाखेलमा रहेको ऐतिहासिक धारा जरुँहिटी उत्खनन गरेको छ। यस क्रममा महानगरले सो स्थानमा उद्यान निर्माण गर्ने क्रममा उत्खनन गर्दा भेटिएको धारालाई पुन: निर्माण गरेर सञ्चालनमा समेत ल्याएको छ। महानगरपालिका र ताम्राकार समाजको सहकार्यमा परम्परागत रूपमा सो धारा  पुनः निर्माण गरिएको हो। उक्त धारा चार सय वर्ष पुरानो रहेको ताम्राकार समाजका अध्यक्ष विनोद ताम्राकारले बताए।

उनको अनुसार हाल ललितपुर महानगरपालिका र समाजका सहकार्यमा निर्मित धारामा आरओ प्रविधिद्वारा प्रशोधित पिउने पानी स्वचालित रुपमा सञ्चालित छ।

ललितपुर–४ का वडाध्यक्ष सन्तोष खड्काले ललितपुर–४ जावलाखेल मोसिख्योमा उद्यान निर्माण गर्ने क्रममा पुरातात्विक महत्व बोकेको ऐतिहासिक धाराको ढुङ्गा भेटिएपछि उत्खनन गरेर पुनः निर्माण गरिएको बताए।

उनले भने, “उत्खनन  भेटिएको धारा (जरुँहिटी) ताम्राकार समाजसँग सम्बन्धित भएकाले आउने दिनहरुमा समाजले नै धाराको संरक्षण गर्नेछ।”

महानगरले ऐतिहासिक सम्पदा संरक्षण र पुनः निर्माण गर्ने क्रममा धारा जरुँहिटीलाई पुनः स्थापना गरेकोमा आफू खुसी रहेको ललितपुर महानगरपालिका–४ जावलाखेलका स्थानीय रामकुमार पन्तले बताए। उनले भने, “पुरानो सम्पदालाई संरक्षण गर्नु राम्रो हो। जरुँहिटी निर्माण गरेपछि बाटो हिंड्नलाई तिर्खाएको बेला प्रशोधित शुद्ध पानी पिउन सहज भएको छ।” 

प्रकाशित: २४ असार २०८१ ११:३५ सोमबार

#Lalitpur Metropolitan Municipality #Historic Section Jarunhiti Excavations